कतार विश्वकप – जापान दोस्रो चरणमा प्रवेश गर्दा पाँच पटकको विजेता जर्मनी बाहिरियो

भक्तपुर, मंसिर १६
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा जापानले अर्को अप्रत्याशित नतिजा निकालेपछि समूह ई मा रहेको पाँच पटकको विश्वकप विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
गएराती सम्पन्न खेलमा जापानले स्पेनलाई २–१ ले पराजित गरेपछि अर्को खेलमा जर्मनी कोस्टारिकामाथि ४–२ को जित निकालेपनि गोल अन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन र जर्मनीले समान ४ अंक जोडेपनि गोल अन्तरमा स्पेन समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।


जापानलाई दोस्रो चरणमा प्रवेश गराउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।
खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । सेजार एज्पिलीक्वेटाको क्रसमा अल्भारो मोराटाले हेडरमार्फत गोल गरे । उनले दुई डिफेन्डरको बिचमा उफ्रेर क्रससँग राम्रो सम्पर्क गर्दै स्पेनलाई अघि बढाए ।


दोस्रो हाफको सुरुवातमै जापानले लगातार गोल फर्कायो । ४८ औं मिनेटमा रित्सु डोआनले सुन्दर गोल गरे । स्पेनले आफ्नै पेनाल्टी क्षेत्रनिर बल खेलाउने प्रयास गर्दा दबाबमा रहेपछि राम्रो क्लियर गर्न नसक्दा जापानले बल खोस्यो । डोआनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक उनाइ सिमोनको हातमा लाग्दै गोल भएको थियो ।
त्यसैगरी ५१ औं मिनेटमा जापानले अर्को गोल थप्यो । काओरु मितोमाले पेनाल्टी क्षेत्रबाट मैदानबाहिर जान लागेको बललाई बचाउँदै दिएको क्रसमा आओ तानाकाले गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीबाट निकै लामो समय परिक्षण गरेपछि गोल कायम रहेको निर्णय आएको थियो ।


त्यसैगरी अर्को खेलमा जर्मनीले कोस्टारिकाविरुद्ध शानदार जित निकाल्यो, तर जर्मनीका लागि यो जित प्रतियोगितामा टिकीरहन प्रयाप्त रहेन । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गर्नु जर्मनीको लागि दुर्भाग्य बन्यो ।
कतारको अल बायत स्टेडियममा बिहीबार राती सम्पन्न रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई शुरुआती अग्रता दिलाए । तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ गोलको बराबरीमा ल्याए ।
७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित पक्का गरे ।

 

 

 

 

 

खेलका दौरान एक समय स्पेन पनि समूह चरणबाट बाहिरिने समीकरण रहेको थियो । कोस्टारिकाले जर्मनीविरुद्ध अग्रता लिएको बेलामा स्पेन अंक तालिकाको तेस्रो स्थानमा पुगेको थियो । तर जर्मनीले खेलमा पुनरागमन गर्दै जित हासिल गर्दा स्पेन जोगिएको हो । यदी जर्मनी पराजित भएको भए स्पेन पनि समूह चरणबाट बाहिरिने थियो ।