कतार विश्वकपमा समूह ‘डी’ बाट अष्ट्र्लिया र फ्रान्स नकआउटमा प्रवेश

भक्तपुर, मंसिर १५
एसियाली मुलुक अष्ट्रेलिया डेनमार्कलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘डी’ को उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यस समूहबाट साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित भएपनि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
समूह ‘डी’ को अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कलाई र ट्युनिसियाले फ्रान्सलाई समान १–० ले पराजित गरे । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।


अष्ट्रेलियालाई नकआउट चरणमा प्रवेश गराउन म्याथ्यु लेकीले खेलको ६० औं मिनेटमा एकल प्रयासमा सानदार गोल गरे । आफ्नो हाफबाट राइली मक्ग्रीले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई लेकीले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । उनले संयमित रुपमा बल राख्दै दुई डिफेन्डर र गोलरक्षकको चुनौती पार गरेका थिए । अन्ततः त्यही गोल अष्टे«लियालाई नकआउट चरणमा प्रवेश गराउन निर्णायक बन्यो ।
अन्तिम १६ मा स्थान बनाउन महत्वपूर्ण रहेको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर गोलरक्षक म्याट रायन र डिफेन्डरद्वय काइल रोवल्स र ह्यारी सुटरले डेनिस आक्रमणलाई पोस्टतर्फ जान दिएनन् । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको अष्ट्रेलियाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्यो ।


मिडफिल्डमा खेलाडी थप्दै विंगमा खेलिरहेका म्याथ्यु लेकीलाई काउन्टर अट्याकमा राख्ने ग्राहम आर्नोल्डको रणनीतिले गोल सम्भव भयो । लेकीले आफ्नो गति र संयमताको प्रयोग गर्दै काउन्टर अट्याकमा अष्ट्रेलियालाई अग्रता दिलाए । त्यसपछि अनुशासित डिफेन्स गर्दै अष्ट्रेलिया जितसम्म पुग्न सफल भयो ।
उता दोस्रो रोजाईको टोली मैदानमा उतारेको साविक विजेता फ्रान्स ट्युनिसियासँग ०–१ ले पराजित भए । एजुकेसन सिटी रंगशालामा ट्युनिसियाले खेलको शुरुवातमै अग्रता लिएपनि भीएआरले त्यसलाई मान्यता दिएन । खेलको नवौं मिनेटमा फ्रिकिकमा घान्द्रीले हेडरमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त सेट पिसमा अफसाइड भएको देखाएको थियो ।


दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै अग्रता दिलाए । त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन ।
दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।
फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।