पोल्याण्डलाई पराजित गरी अर्जेन्टिना विश्वकपको दोस्रो चरणमा प्रवेश, हारका बावजुद पोल्याण्डपनि नकआउट चरणमा

भक्तपुर, मंसिर १५
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा हारबाट शुरुवात गरेको अर्जेन्टिना अन्ततः समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ । विश्वकपको समूह सी को समूह चरणको अन्तिम खेलमा पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना दोस्रो चरण अर्थात नकआउट चरणमा प्रवेश गरेको हो ।
स्टेडिय ९७४ रंगशालामा बुधबार राती सम्पन्न खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।
प्रतियोगितामा रही रहन जित आवश्यक भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न चुके । खेलको ३९ औं मिनेटमा अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा पोल्याण्डका सेचेज्नीको हातले मेस्सीको अनुहारमा लाग्यो । खेल रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।


तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए ।
पहिलो हाप गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हापको शुरुमै अर्नेन्टिना अग्रता लिन सफल भयो । खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । नाहुएल मोलिनाले दायाँ विंगबाट दिएको लो क्रसलाई एलेक्सिसले गरेको प्रहार फितलो थियो । तर उक्त प्रहार दुई डिफेन्डर र गोलरक्षक पार हुँदै गोलमा परिणत भएको थियो ।
अर्जेन्टिनाले खेलको ६७ औं मिनेटमा अग्रता दोब्बर पारे । अर्जेन्टिनाका लागि दोस्रो गोल अल्भारेजले गरे । एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई अल्भारेजले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरको दबाबमाझ नियन्त्रण गरे । उनले त्यसपछि गरेको प्रहार गोलरक्षक सेचेज्नीको हातमा लाग्दै गोल भएको थियो ।


जितसँगै अर्जेन्टिना दुई जित र एक हारसहित ६ अंकका साथ समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्यो । पोल्याण्ड हारका बावजुद समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ ।
समूहको अर्को खेलमा मेक्सिकाले साउदी अरेबियालाई २–१ ले पराजित गरेपनि पोल्याण्ड गोल अन्तरको फाइदा उठाउँदैं दोस्रो चरण प्रवेश गरेको हो ।
समूहमा पोल्याण्ड र मेक्सिको दुवैको एक जित, एक हार र एक बराबरीका साथ ४ अंक रहेको छ । तर मेक्सिको गोल अन्तर माइनस एक भएका कारण पोल्याण्ड दोस्रो चरण प्रवेश गरेको हो । एक समय पहेंलो कार्डमा समूहको दोस्रो र तेस्रो स्थानको छिनोफानो गर्ने अवस्था रहेको थियो । तर इन्ज्युरी समयको अन्त्यतिर मेक्सिकोले गोल खाएपछि पोल्यान्ड त्यहि गोलको सहायताले गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा स्थान बनाउन सफल रहयो । यदि मेक्सिकोले अन्तिम समय गोल थपेको भए पोल्यान्ड बाहिरिने थियो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।


लुसेल रंगशालामा मेक्सिकोलाई जित दिलाउन हेनरी मार्टिन र लुईस चाभेजले गोल गरे । मार्टिनले खेलको ४७ र चाभेजले ५२ औं मिनेटमा गोल गरेका थिए । कर्नरमा सेजार मोन्टेसको फ्लिकलाई मार्टिनले ६ यार्ड बक्स नजिकबाट गोलमा परिणत गरे । त्यस्तै चाभेजले फ्रिकिकमा दर्शनीय गोल गर्दै मेक्सिकोलाई जिततर्फ उन्मुख गराए । उनले झन्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गरेका थिए ।
खेलको इन्ज्युरी समयमा साउदीले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेका थिए । साउदीका सलिम अल्दावसरीले गोल फर्काउँदैं आफुलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सम्भव भएन, अन्ततः मेक्सिको २–१ ले विजयी भयो । तर साउदीका सलिमको त्यही गोल मेक्सिकोलाई घर फर्काउन काफी रह्यो ।