भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् व्यवस्थापन तालिम

भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । दुई दिन सञ्चालन हुने तालिम आज (बुधवार) शुरु भएको हो ।
तालिमको पहिलो दिन प्राविधिक सेसन सञ्चालन गरिएको थियो । सो सम्बन्धी तालिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत सन्तोष कुमार खत्रीले सञ्चालन गर्नुभएको थियो । त्यसैगरी डा. राजु थापा र अनिरुद्र नेपालले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । तालिम कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु गरी ४५ जनाको सहभागिता रहेको छ ।
यसअघि तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएको हुँदा यसबाट जोगिनको लागि सदा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
“विपद्बाट भाग्ने होइन यसबाट नयाँ कुरा सिक्नुपर्छ,” उहाँले भन्न्ुभयो, “विपद्सम्बन्धी पूर्वतयारी र विपद्बाट जोगिन सँधै तत्पर रहन बलियो संरचना निर्माण गर्नुपर्छ ।” उहाँले नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न डकर्मी तालिम तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।
उपप्रमुख रजनी जोशीले विपद् कुनै पनि समय र कुनै पनि स्वरुपमा आउन सक्ने भएको हुँदा संरचना निर्माणमा भवन आचारसंहिता अनिवार्य रुपमा पालना गर्नुपर्ने बताउँदैं बाढी, पहिरो, आगलागी, महामारीको रुपमा पैmलिने रोगहरुबाट हुने धनजनको क्षतीबाट बच्न नगरबासीहरुलाई सचेत र शिक्षित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।