सेनेगल विश्वकपको नकआउटमा प्रवेश गर्दा प्रशिक्षक सिसेलाई जुर्यो अनौठो संयोग

भक्तपुर, मंसिर १४
फिफा विश्वकप फुटबल प्रतियोगितामा अफ्रिकी मुलुक सेनेगल २० वर्षपछि नकआउट चरणमा प्रवेश गर्दा प्रशिक्षक अलिओउ सिसेलाई अनौठो संयोग जुरेको छ । सेनेगल मंगलवार राती सम्पन्न खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
यसअघि सेनेगल २० वर्ष अघि सन् २००२ को विश्वकपमा अन्तिम १६ को यात्रा तय गर्दै क्याटर फाइनलसम्म पुगेको थियो । सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर सनसनी मच्चाउँदै क्वाटरफाइनलको यात्रा तय गर्दा हालका प्रशिक्षक सिसे सेनेगलका कप्तान थिए । उनै सिसेको प्रशिक्षणमा रहेको सेनेगल २० वर्षपछि विश्वकपको नकआउटमा चरणमा प्रवेश गर्दा उनी कप्तान र प्रशिक्षकका रुपमा सेनेगललाई विश्वकपको नकआउट चरणमा पुर्याउने संयोग जुरेको हो ।
उनकै प्रशिक्षणमा सेनेगलले गत वर्ष अफ्रिकन कप अफ नेसन्सको उपाधि समेत जितेको थियो । सिसेले सेनेगललाई कप्तान र प्रशिक्षकको रुपमा पनि अफ्रिकन कपको फाइनलमा पु¥याएका थिए । खेलाडीको रुपमा जित्न नसकेको अफ्रिकन कप उनले प्रशिक्षकको रुपमा जितेका थिए । अहिले उनी सेनगल फुटबलको लेजेण्डको रुपमा रहेका छन् ।
सेनेगलले दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको थियो भने अहिले तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भएको हो ।
विश्वकपको मुखैमा स्टार फरवार्ड एवम् कप्तान साडियो माने घाइते हुँदा सेनेगललाई सुरुमै झड्का लागेको थियो । सेनेगल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कतारलाई ३–१ ले र तेस्रो तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।