विश्वकपको अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिका र इंग्ल्यान्डले सेनेगलको सामना गर्ने

भक्तपुर, मंसिर १४
कतारमा जारी विश्वकप फुटबल २०२२ को दुई समूहको समूह चरणका खेल समाप्तीसँगै नकआउट चरणका दुई खेलको समिकरण पुरा भएको छ । विश्वकपको समूह ए र बी का समूह चरणका खेलहरु मंगलवार राती सम्पन्न भएका छन । यससँगै अन्तिम १६ को नकआउट चरणमा नेदरल्यान्ड्सले अमेरिका र इंग्ल्यान्डले सेनेगलको सामना गर्नुपर्ने भएको छ ।
समूह ए को मंगलवार सम्पन्न खेलमा नेदरल्यान्ड्स र सेनेगलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन । त्यस्तै समूह बी बाट इंग्ल्यान्ड र अमेरिका जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल रहे ।
नेदरल्यान्ड्स (डच)ले आयोजक कतारलाई २–० ले हराउँदै समूह विजेता बन्यो । डच टोलीका लागि खेलको २६ औं मिनेटमा कोडी गाक्पोले पहिलो गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट मेम्फिस डिपाएले सुरुवात गरेको आक्रमणलाई गाक्पोले फिनिस गरेका थिए । डिपाए, डेभि क्लासेन र गाक्पोले पास खेल्दै डिफेन्स चिरेपछि गोल सम्भव भएको थियो । गाक्पोले अन्तिम पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै वन भर्सेस वनमा सहज फिनिस गरे । विश्वकपमा उनको यो तेस्रो गोल हो ।
डच टोलीले खेलको दोस्रो हापको शुरुवातमै अग्रता दोब्बर बनायो । फ्रेन्की डे जोङले ४९ औं मिनेटमा कतारी डिफेन्सको गल्तीमा गोल थपेका थिए । डिपाएको पहिलो प्रहारलाई गोलरक्षक मेशाल बार्शामले बचाएपनि पेड्रो मिगुएलले क्लियर गर्न ढिलो गर्दा डे जोङले रिबाउन्डलाई गोललाइन अघिबाट गोलमा परिणत गरे ।


जितसँगै डच टोली समूहमा अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गर्यो । यसअघि नै प्रतियोगिताबाट बाहिरिएको आयोजक कतारको अन्तिम खेल कम्तिमा बराबरी गरेर अंक बटुल्ने प्रयास सफल हुन सकेन ।
यसैगरी समूह ए को अर्को खेलमा इक्वेडरलाई पराजित गर्दै अफ्रिकी मुलुक सेनेगल अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिए । खलिफा रंगशालामा इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे ।
दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।
तर सेनेगलले दुई मिनेटपछि नै पुनः अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए । फ्रिकिकमा रिबाउन्ड भएको बललाई उनले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा गोल गरेका थिए । अन्ततः खेल सेनेगलको पक्षमा गयो र ३ खेलमा ६ अंकका साथ दोस्रो चरणमा प्रवेश गर्यो । इक्वेडर ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता बाहिरियो ।
यसैगरी समूह बी को खेलमा इरानलाई पराजित गर्दै अमेरिका र वेल्स हराउँदैं इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हरायो । अमेरिका इरानलाई हराउँदै अपराजित रहेरै नकआउट चरणमा पुग्यो । ३ खेलमा अमेरिकाले ५ अंक जोड्दा इरान ३ अंक र वेल्स १ अंकमा सिमित रहे ।
अन्तिम चरणमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोल तथा अमेरिकाले इरानलाई १–० गोलले पराजित गरे । इंग्ल्यान्डका लागि रास्फोर्डले दुई गोल गरे । उनले खेलको ५० र ६८ मिनेटमा गोल गरेका थिए । यस्तै अर्को गोल फिल फोडेनले ५१ मिनेटमा गरेका थिए ।
यता इरानविरुद्ध महत्वपूर्ण जित दिलाउने क्रममा अमेरिकाका क्रिस्टियन पुलिसिकले ३८ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । वेस्टन मक्केनीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको लामो पासलाई सर्जिनो डेस्टले हेडरमार्फत ६ यार्ड बक्सतर्फ पठाए । क्रिस्टियन पुलिसिचले पहिलो टचमा हावामा रहेको बललाई पोस्टको दिशा दिए । गोल गर्ने क्रममा इरानी डिफेन्डरसँग जुधेर भुइँमा लडेका उनको लामो समय मैदानमै उपचार गर्नु परेको थियो ।
यस जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।