घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजमा तोडफोड

भक्तपुर, मंसिर १३
भक्तपुरको घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजले अवैधानिकरुपमा विभिन्न प्राविधिक र अप्राविधिक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरी पठनपाठन गरेको र विद्यार्थीहरुसँग गैरकानुनीरुपमा शुल्क उठाई करोडौं ठगी गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले मंगलवार तालाबन्दी गर्नुका साथै कलेजमा तोडफोड गरेको छ ।
सो कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गरी करौडौं रकम असुलेको समाचार सार्वजनिक भएपछि अनेरास्ववियु (क्रान्तिकारी)ले कलेज घेराउ गर्नुका साथै आन्दोलनका कार्यक्रम गरेको थियो ।
कलेजमा नाराबाजीमा उत्रेका आन्दोलनकारीले ढुंगामुढा गर्दा कलेजका करिव एक दर्जन झ्यालका सिसा फुटेका छन । आन्दोलनमा अनेरास्ववियु (क्रान्तिकारी) सिटिईभिटी अध्यक्ष डिभी चन्द, टियु इन्चार्ज अनिल केसी, सिटिईभिटी उपाध्यक्ष नविन बिष्ट, भक्तपुर जिल्ला अध्यक्ष लक्ष्मण विक, केन्द्रीय सदस्य प्रेम सञ्ज्याललगायतका विद्यार्थी नेताहरु सहभागी भएको स्रोतले जानकारी दिए । कलेजमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको दावी छ ।
यसैबीच अनेरास्ववियु क्रान्तिकारीले एक विज्ञप्ती जारी गर्दै कलेको कार्यलाई शैक्षिक अपराधको संज्ञा दिँदैं हदैसम्मको कारवाही हुनुपर्ने माग समेत गरेको छ । “यो प्रकारको हदैसम्मको शैक्षिक अपराधको छानविन गरी पीडित विद्यार्थीहरुबाट असुलिएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल इन्टरनेशनल कलेज नामको संस्थालाई बन्द गरी सञ्चालकलाई कारवाही गर्न सम्बन्धीत सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं,” विज्ञप्तीमा उल्लेख छ ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीद्धारा जारी विज्ञप्तीमा सम्बन्धीत निकायले कारवाही नगरे संगठन स्वयम्ले कडा भन्दा कडा कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
सुवाल इन्टरनेसनल कलेजले नियामक निकायको अनुमति र सम्बन्धनबिना नै नर्सिङ, फार्मेसी र सामान्य चिकित्सा (एचए)मा २ सय ७० जना विद्यार्थी भर्ना गरी पठनपाठन शुरु गरेको र इन्जिनियरिङका विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी भर्ना आह्वान गरी सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।