कतार विश्वकपमा समूह चरणका अन्तिम खेल अगावै पोचुर्गलसहित तीन टोली नकआउट चरणमा प्रवेश

भक्तपुर, मंसिर १३
समूह चरणमा लगातार दुई खेलमा जित हासिल गर्दै पोर्चुगल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । विश्वकपमा समूह चरणका अन्तिम खेल अगावै नकआउट चरणमा प्रवेश गर्ने पोर्चुगल तेस्रो टोली बनेको छ । यसअघि साविक विजेता फ्रान्स र पुर्व विजेता ब्राजिल नकआउट चरणमा प्रवेश गरेको थियो ।
पोर्चुगललाई दोस्रो जित दिलाउन सोमवार राती भएको उरुग्वे विरुद्धको खेलमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल र दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।
खेलको ५४ औं मिनेटमा फर्नान्डेसले पेनाल्टी क्षेत्र बाहिरबाट रोनाल्डोतर्फ दिएको लामो पास गोलमा परिणत भएको थियो । रोनाल्डो हेडका लागि उफ्रेको अवस्थामा गोलरक्षक सर्जियो रोसेटले बलको दिशा बुझ्न नसक्दा गोल सम्भव भएको थियो ।
फर्नान्डेसले दोस्रो हापको इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि पेनाल्टीमा दोस्रो गोल गरे । भिडियो एसिसेन्ट रेफ्रीले उरुग्वेको बक्सभित्र ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए ।


निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । उरुग्वे तुलनात्मक रूपमा आक्रमक देखिएको थियो । बल पोसेसनमा सहज देखिएको पोर्चुगलविरुद्ध उरुग्वे काउन्टर अट्याकमा समस्या दिन सफल भएको थियो । खेलमा १–० ले पछाडी परेपछि आक्रमणमा जोड दिएपनि उरुग्वेले बराबरी गोल फर्काउन सकेन ।
खेलको तेस्रो मिनेटमै पोर्चुगलले पोस्टमा आक्रमण गर्ने अवसर पाएको थियो । रोनाल्डोले छातीले दिएको पासमा विलियम कार्भाल्होले पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।
खेलको ३२ औं मिनेटमा उरुग्वेले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रोड्रीगो बेन्टान्कुरले मिडफिल्डबाट एक्लै बल बढाउँदै पोर्चुगलको डिफेन्स लाइन बिट गरे । उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनको स्थितिमा उनको प्रहार गोलरक्षक डिओगो कोस्टाले बचाए ।

७५ औं मिनेटमा उरुग्वेका म्याक्सी गोमेजको प्रहारमा गोलरक्षक कोस्टा बाधक बने । लगत्तै फ्रिकिकमा आएको रिबाउन्डमा लुइस सुआरेज बललाई पोस्टको दिशा दिनबाट चुके । त्यसको एक मिनेट नबित्दै फेडे भालभर्डेको पासमा जिअर्जिअन डे आरासेटाको चिप प्रहार कोस्टाले दोस्रो प्रयासमा जोगाए ।
जितसँगै पोर्चुगल ६ अंक सहित नकआउट चरणका स्थान पक्का गरेको हो । समूहमा घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १–१ अंक छ । सोमवार नै सम्पन्न अर्को खेलमा घानाले दक्षिण कोरियालाई पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । समूहको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।