मौलिक शैलीका घरहरू भएको अलग अलग शहर निर्माण गर्नुपर्ने

भक्तपुर, मंसिर १२
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मौलिक शैलीका घरहरु भएको अलग शहर निर्माण गर्नुपर्ने बताउनुभएको छ । विश्व शहर दिवस र विश्व शहरी योजना दिवस २०७९ को अवसरमा शहरी विकास मन्त्रालयले ‘दिगो विकासका लागि स्थानीय प्रयास’ भन्ने नाराका साथ सोमवार आयोजित कार्यशाला गोष्ठीमा नगरप्रमुख प्रजापतिले पर्यटन उद्योगको प्रबद्र्धन र मौलिक पहिचानका लागि मौलिक शैलीका घरहरु भएको शहर निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले तीव्र रुपमा भइरहेको जनसंख्या बृद्धिसँगै शहरहरु कुरुप र बस्न अयोग्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रदुषणरहित र व्यवस्थित शहर निर्माण आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले स्मार्ट सिटी नेपालको सन्दर्भमा आवश्यक नभएको टिप्प्णी समेत गर्नुभयो । “शहर भनेको धनी र गरिब सबैको लागि बस्न योग्य हुनुपर्छ । गरिबहरु विस्थापित हुनुपर्ने र धनीहरुको मात्रै बसोबास हुने खालको स्मार्ट सिटी नेपालको लागि आवश्यक छैन,” उहाँले भन्नुभयो ।


विदेशी लगानी भित्रयाएर कमिशन खान लालायित योजनाविद्हरु र प्राविधिकहरुले आधुनिकताको नाउँमा विकृतिहरु भित्रयाई रहेको बताउँदैं उहाँले नयाँ शहरहरू निर्माण गर्दा देशको सन्तुलित विकासलाई पनि ध्यानमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम जनतालाई केन्द्रमा राखी समाजवादउन्मुख काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बागमती नपाका प्रमुख भरतकुमार थापाले गाउँलाई शहर र गरिबलाई धनी बनाउने बागमती नपाको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै नपाले गरिबी निवारण, सीपमूलक तालिम सञ्चालन, व्यवसायिक र यान्त्रीकरण कृषिमा जोड, सहकारीमा आधारित साझेदारी, सुकुम्बासी व्यवस्थापन, सुत्केरी स्याहार पोषण भत्ताको व्यवस्था, नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणलगायतका योजनाहरु सञ्चालनमा रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगकासदस्य प्रा.डा. सुरेन्द्र लाभ कर्णले अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने देशमा अकस्मात ६२ प्रतिशत जनता नगरपालिकामा पर्ने गरी नगर घोषणाले योजना आयोगलाई काम गर्न समस्या भएको बताउनुभयो । उहाँले एउटा सफा, सुन्दर र व्यवस्थित नमुना शहर निर्माण गर्ने आफ्नो सपना रहेको पनि उक्त अवसरमा जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्माले शहरी विकासमा स्थानीय प्रयास अत्यन्त महत्वपूर्ण भएको बताउनुहुँदै स्थानीय तहको विकास कार्य दिगो बन्न स्थानीय जनताको अपनत्व आवश्यक रहेको चर्चा गर्नुभयो । शहरी विकास योजनामा स्थानीय तहलाई परिचालन गर्नु चुनौतीपूर्ण भएको बताउँदैं उहाँले शहरको फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहहरुले घरघरबाटै कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गरी आफ्नै क्षेत्रमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
शहरी विकास तथा भवन विभागका नि.सचिव पदमकुमार मैनालीले देश विकासमा स्थानीय अपनत्व नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताउँदैं शहरी विकास मन्त्रालयबाट शहरी विकास ऐन तर्जुमा भई सहमतिको लागि कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पेश भइसकेको अवगत गराउनुभयो ।
शहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज (रपसन) का अध्यक्ष महेन्द्र सुब्बा, राजनीतिक विश्लेषक सी.के. लाल, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक नारायणप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. मार्क पेल्लिङ, युएन कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानलगायतले सम्बोधन गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्रस्तुत ख्वप इन्जिनियरिङ कलेजका छात्रा अन्जु महर्जन र पुर्वाञ्चल विश्वविद्यालयका आस्था आचार्यलाई उत्कृष्ट सोधपत्र पुरस्कार वितरण गरिएको थियो ।