भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनका थापा विजयी

भक्तपुर, मंसिर ८

भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी हुनुभएको छ । गएराती सम्पन्न मतगणनामा थापा २४ हजार २ सय ३९ मतका विजयी हुनुभएको हो ।
उहाँका निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयो । थापाले बस्नेतलाई ९५७ मतान्तरले पछि पार्नुभएको हो । त्यसैगरी नेमकिपाका अनुराधा थापामगरले ७ हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ हजार ९८, राप्रपाका मोहन केसीले २ हजार ५६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरी भक्तपुरमा पहिलो पटक एमालेको विजयको झण्डा फहराउन सफल भएको थियो । त्यतिबेला बस्नेतले ३६ हजार ४१२ मत पाउनुभएको थियो ।
बस्नेत २०७० को संविधानसभा निर्वाचनमा पनि पराजित हुनुभएको थियो । २०७० मा बस्नेतले १६ हजार २८ मत पाउँदा तेस्रो हुनुभएको थियो भने कांग्रेसका रामेश्वर ढुंगेल २१ हजार १२१ मतले विजयी हुनुभएको थियो ।
बस्नेतको पराजयसँगै भक्तपुर क्षेत्र नं. २ मा एउटै व्यक्ति र पार्टीले लगातार जित हासिल गर्न नसकेको इतिहास कायम भएको छ । २०४६ मा प्रजातन्त्र पुनःस्थापनासँगै सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा दलहरुले आलोपालो जित्दै आएका छन । त्यसैगरी एउटै उम्मेदवारले दोहोर्याएर जित्न सकेको छैन ।
२०४८ मा कांग्रेसका जगन्नाथ आचार्यले जितेको भक्तपुर क्षेत्र नं. २ मा २०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले जिते । २०५६ मा पुनः कांग्रेसका लेखनाथ न्यौपानेले जितेको थियो भने २०६४ मा नेमकिपाका सुनिल प्रजापतिले जित्नुभयो । । प्रजापतिले कांग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गर्नुभएको थियो । २०७० मा कांग्रेसका रामेश्वर ढुंगेलले नेमकिपाका सुनिल प्रजापतिलाई पराजित गरेका थिए ।