भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतगणना पुनः शुरु

भक्तपुर, मंसिर ७
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना पुनः शुरु भएको छ । समानुपातिकको पनि प्रत्यक्षसँगै समानान्तर रुपमा गणना गर्ने निर्वाचन आयोगको परिपत्रका कारण निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षतर्फको मतगणना स्थगित गरेको थियो ।
निर्वाचन अधिकृत लोकनाथ पराजुलीले प्राविधिक कारण प्रत्यक्षतर्फको मतगणना रोकिएको जस्तो देखिएपनि वास्तवमा त्यस्तो नभएको र मतगणना सहज ढंगले अघि बढेको बताउनुभयो । उहाँले मतगणना रोकिएको भन्ने हल्ला निराधार भएको र विवादरहित रुपमा निरन्तर सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मतगणनाका लागि एक स्थान थप गरिएको र प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतगणना भइरहेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मतगणनाका क्रममा विभिन्न स्थानमा प्रत्यक्षको मतपत्र समानुपातिक र समानुपातिकको मतपत्र प्रत्यक्षतर्फको बाकसमा खसालेको भेटिएको र त्यसैका कारण विवाद उत्पन्न भएकोले मतगणनालाई विवादरहित बनाउन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना समानान्तररुपमा लैजान परिपत्र गरिएको बताउनुभयो ।
मतगणना रोकिएपछि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा मतगणना स्थल बोडेको कृषि विकास तालिम केन्द्र पुगेर मतगणना सुचारु गर्न आग्रह गरेका थिए । उहाँले निर्वाचन अधिकृतले मतगणनालाई प्रभावित बनाउन खोजेको आरोप लगाउँदै उनको नियतमाथि शंका व्यक्त गर्नुभयो । “कुनै विवाद छैन । मतगणना सूचारु भइरहेको अवस्थामा अहिले आएर समानुपातिक पनि गन्नुपर्छ भन्दै प्रत्यक्ष तर्फको गणना नगर्ने कार्य आपत्तिजनक छ,” उहाँले भन्नुभयो, “मतगणना तुरुन्त सुचारु गरियोस ।”
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा र नेकपा एमालेका महेश बस्नेतबीच कडा प्रतिष्पर्धा चलिरहेको छ ।
पछिल्लो घोषित मत परिणाम अनुसार थापा बस्नेत भन्दा ६०५ मतले अघि छन । थापाले २२ हजार २४८ मत प्राप्त गर्नुभएको छ भने बस्नेतले २१ हजार ६४३ मत प्राप्त गर्नुभएको छ ।