प्रमुख आयुक्त थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रमा मतदान गरे

भक्तपुर, मंसिर ४
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भक्तपुर क्षेत्र नं. २ को मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान स्थलको ख मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजेर १० मिनेटमा सो मतदान स्थलको दोस्रो मतदाताको रुपमा मतदान गर्नुभएको हो ।
मतदान पछि पत्रकारहरुसँग कुराकानी गर्दै थपलियाले मतपेटिका संकलन भइसकेपछि सर्वदलीय छलफलपश्चात मतगणना शुरु हुने जानकारी दिनुभयो । उहाँले केही हिमाली भेगमा हिमपातका कारण तोकिएको समय ७ बजे नै मतदानको प्रक्रिया शुरु हुन नसके केही समय ढिला भएपनि शुरु गरी मतदान सम्पन्न गर्न मतदान अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।


उहाँले आम नागरिकलाई आफु र आफुसँगै परिवारका सबै सदस्य जो मतदाता नामावलीमा नाम छन, सबैलाई मतदानमा सहभागी गराउन आह्वान समेत गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न निर्वाचनमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिँदैं उहाँले राजनीीतक दलहरुले पनि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
यसअघि सो मतदान स्थलको ख केन्द्रमा अपाङ्गता भएका व्यक्ति दिपेन्द्रराज केसीले पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको थियो । ह्विल चियरमा मतदान गर्न आउनुभएका केसीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नै पहिलो मतदाताको रुपमा मतदान गर्न दिनुभएको थियो ।