भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थलमा मिडिया डेस्क स्थापना

भक्तपुर, मंसिर ३
भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थल नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा मिडिया डेस्क स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सूचना सम्प्रेषण सहज बनाउन मिडिया डेस्क स्थापना गरिएको हो ।
मिडिया डेस्कमा सञ्चारकर्मीहरुको लागि इन्टरनेटको समेत व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले बताउनुभयो । महासंघका पदाधिकारीहरुसँगको छलफलमा बास्तोलाले मतगणना स्थलको तस्विर खिच्न भिडभाड नहुने गरी निश्चित संख्यामा छोटो समयमा लागि सञ्चारकर्मीहरुलाई आलोपालो प्रवेशको व्यवस्था समेत मिलाउने बताउनुभयो ।
उहाँले निर्वाचनको मतगणना सम्बन्धी निर्देशिका र कार्यविधि अनुसार निश्चित मत संख्याको गणना सम्पन्न भएपछि रुजु गरी तयार भएको परिणामलाई समय समयमा सार्वजनिक गर्ने, सञ्चारकर्मीहरुलाई उपलब्ध गराउने व्यवस्था समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आधिकारिक सूचना प्रवाहमा कुनै कञ्जुस्याई नहुने बताउँदैं सञ्चारकर्मीहरुले पनि आधिकारिकरुपमा पुष्टि भएका सूचना मात्र सम्प्रेषण गरी निर्वाचनलाई स्वच्छ, मर्यादित रुपमा सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।


सो अवसरमा महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले मतगणनाको सूचना प्रवाह सरल र सहज बनाउन अनुरोध गर्दै निर्वाचनलाई सफल बनाउन महासंघ आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
छलफलमा महासंघका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव सञ्जिप घिमिरे ‘शुभचिन्तक’ र सदस्य सञ्जिव दुलालको पनि सहभागिता रहेको थियो ।
यसैगरी मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी जडान गरिएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको दुई क्षेत्रको अलग अलग मतगणनाको व्यवस्था गरिएको जानकारी दिँदैं मुख्य निर्वाचन अधिकृत बास्तोलाले मतगणनाका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका सबै उपाय अवलम्वन गरिएको बताउनुभयो । उहाँले मतपेटिकाको सुरक्षाका लागि मतपेटिका संकलन केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।


यसैगरी भक्तपुर क्षेत्र नं. २ को निर्वाचन अधिकृत लोकनाथ पराजुलीले पनि मतगणनाको सूचना सरल सहजरुपमा सार्वजनिक गर्न आवश्यक प्रवन्ध गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखा र मध्यपुर सञ्चार समाजका प्रतिनिधिहरुसँग छलफल गर्दै पराजुलीले पनि आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गरी निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो ।
उहाँले क्षेत्र नं. २ को मध्यपुर थिमि वडा नं. ८ बोडेस्थित बोडे मावि मतदान स्थलमा सम्पूर्ण कर्मचारी महिला खटाएको जानकारी दिनुभयो । उहाँले सो मतदान स्थलमा दुई केन्द्र भएको र ती दुवै केन्द्रमा आवश्यक जनशक्ति सबै महिला खटाएको बताउनुभयो । ‘सुरक्षा निकाय र मतदान स्थलका स्थानीय स्वयम् सेवक बाहेक निर्वाचन कार्यालयले खटाउने सबै कर्मचारी महिला खटाएका छौं,’ उहाँले भन्नुभयो ।
छलफलमा महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव सञ्जिप घिमिरे ‘शुभचिन्तक’, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठ र सदस्य सुरेश श्रेष्ठ सहभागि थिए ।