गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा

भक्तपुर, कार्तिक २५
सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य भएको स्पष्ट पार्नुभएको छ ।
गठबन्धनले बालकोटमा शुक्रवार आयोजित चुनावी सभामा थापाले प्रतिगामी शक्तिहरुको चलखेलले दुई दुई पटक सार्वभौम संसद असंवैधानिक तवरले भंग गरी मुलुकमा संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउने षडयन्त्र गरेपछि निर्माण भएको गठबन्धन आगामी निर्वाचनपछि संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि निरन्तर अघि बढ्ने बताउनुभएको हो ।
भक्तपुर क्षेत्र नं. २ मा निर्वाचन हार्ने निश्चित भएपछि विपक्षी दल र उम्मेदवार विभिन्न व्यक्ति तथा समूदायलाई आर्थिक प्रलोभनमा पारेर निर्वाचन जित्ने दाउमा लागि परेको आरोप लगाउँदैं उहाँले भन्नुभयो, “लोकतन्त्रमा जनता सर्वेसर्वा हो । जनताको मत अमूल्य हुन्छ । लोकतन्त्रमा जनतालाई खरिद गर्न सकिँदैन । यदी कोही कसैले तपाईंको मत खरिदका लागि पैसा दिन आउँछ भने त्यो पैसा लिनुस् तर भोट गठबन्धनलाई दिएर मत खरिद गर्नेहरुलाई गतिलो जवाफ दिनुस् ।”


उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सडक, खानेपानी, सरसफाई जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय नै आफुहरुको मुल एजेण्डा भएको बताउनुभयो । “म झुठा आश्वासन बाँड्ने र ठूला ठूला योजना सुनाएर जनतालाई भ्रमित पार्न चाहन्न । हाम्रो साझा एजेण्डा जनताका शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, रोजगारी जस्ता आधारभुत आवश्यकता पुरा गर्ने हो,” उहाँले भन्नुभयो । उहाँले २०७४ को प्रतिवद्धता कति पुरा भयो भनी विगतका जनप्रतिनिधिलाई प्रश्न सोध्न आग्रह समेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता दिलिपकुमार प्रजापतिले के पी शर्मा ओलीले संविधानलाई च्यातचुत पार्ने, गणतन्त्रलाई ध्वस्त पार्ने उद्देश्यका साथ देशलाई अशान्तिको दिशातर्फ लिएर जान संसद विघटन गरेको र त्यसको विरुद्ध आवाज उठाउनु पर्ने स्थिती पैदा भएको बताउनुभयो ।


उहाँले संविधानमा उल्लेखित नेपालका तममा वर्गिय, जातिय, लैंगिक र अल्पसंख्यकहरुको अधिकार रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको बताउनुभयो । जब जब नेपाली कांग्रेस र साँचो कम्युनिष्टहरु एक भए तब तब नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “के पी शर्मा ओली जो गणतन्त्र विरोधीको रुपमा देखा परेको छ । अधिनायक वादको नेतृत्व गरेर अघि आएको छ । यस्तो बेला हाम्रा सामु यक्ष प्रश्न खडा भएको छ की हामी गणतन्त्रको पक्षमा उभिने की, गणतन्त्रको विरुद्धमा ?, हामी भ्रष्टाचारीको पक्षमा उभिने की विपक्षमा उभिने ?”
कार्यक्रममा नेकपा एकिकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम बस्नेतले ०७४ सालको निर्वाचनमा माओवादीसँग मिलेर महेश बस्नेतलाई जिताउनु भुल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाम गठबन्धनले २०७४ मा भक्तपुरका आम मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेर महेश बस्नेतलाई सांसद जितायौं त्यो नै सबैभन्दा ठूलो भुल भयो । किनकी हामीले भक्तपुर परिवर्तन हुन्छ, भक्तपुरमा विकास हुन्छ, भक्तपुरका जनतामा समृद्धी आउँछ भनेर जनताको घरघरमा पुगेर मत माग्यौ र जितायौं तर विगत पाँच वर्षमा भक्तपुरमा गुण्डाहरुको राज भयो, तस्करहरुको राज भयो, भ्रष्टाचारीहरु जन्मियो, सांसद अपहरणकारीको दाग लाग्यो ।
उहाँले बालकोटका विभिन्न स्थानको विकास निर्माणमा एमालेका पहुँचवाला नेताहरुले अवरोध गरिरहेको आरोप समेत लगाउनुभयो ।
नेपाली कांग्रेसका नेता कविर राणाले के पी ओलीको अधिनायकवादका कारण आजको गठबन्धन जन्मिएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा २ (क)का उम्मेदवार विष्णुराज कार्कीलगायतले धारणा राख्नुभएको थियो ।