आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा

भक्तपुर, कार्तिक २३
सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउनुभएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनले नलिञ्चोकको जोरपाटीमा बिहिवार आयोजित सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० को चुनावी सभामा थापाले जनता लोकतन्त्रको पक्षमा रहेकोले प्रतिगामी शक्तिहरु आगामी निर्वाचनमा परास्त हुने बताउनुभएको हो ।
उहाँले प्रतिगामी शक्तिहरुको अधिनायकवादका कारण भक्तपुरको नाम समेत बदनाम भएको बताउँदैं त्यस्ता अधिनायकवादका नाईकेलाई भक्तपुरका जनताले चुनावमा हराएर अधिनायकवादको अन्त्य गर्ने अपेक्षा गर्नुभयो ।
उहाँले भक्तपुरमा विकासका नाममा संस्थागत भ्रष्टाचार बढेको चर्चा गर्दै विकासले भक्तपुरका जनतालाई भन्दा केही सिमित व्यापारीलाई प्रत्यक्ष फाइदा गरेको आरोप लगाउनुभयो । “सडक निर्माणको नाममा केही सिमित जग्गा व्यवसायीहरुले गरेका प्लानिङमा बाटो लाने कार्य भएको छ । जनतालाई भ्रममा राख्ने काम भएको छ । अब त्यस्ता कार्यको पर्दाफास भएको छ,” उहाँले भन्नुभयो ।
उहाँले चित्तपोल र नंखेलका केही जग्गा प्लटिङमा चिल्ला सडक निर्माण भएपनि यस क्षेत्रका पुराना काठ बस्तीका सडकहरुको अवस्था, खानेपानी र विद्युतलगायतका समस्या पाँच वर्ष अघिको जस्तो थियो उस्तै रहेको चर्चा गर्दै ती समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उहाँले विगतका जनप्रतिनिधिहरुले जग्गा व्यवसायीहरुसँग मिलेर सार्वजनिक जग्गा र खोला समेत मासेको आरोप समेत लगाउनुभयो । ”मैले बयान गरिरहनु पर्दैन । तपाईंहरुले प्रत्यक्ष देख्नु भएको छ । जनप्रतिनिधिहरुको मिलेमतोमा यहाँका सार्वजनिक जग्गा र खोलानाला गायव भएका छन,“ उहाँले भन्नुभयो ।
उहाँले स्थानीयलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो, “सधै जनतालाई भ्रमजालमा पारेर झुट्टा आश्वासन दिएर करोडौँको मालिक बनेकाहरू घर आगनमा फेरि झुट्टो आश्वासन र नोटको बिटो लिएर आउलान त्यस तर्फ सचेत हुनुपर्छ ।”
थापाले संबिधान रक्षार्थ बनेको गठबन्धन निर्वाचनपछिको पाँच वर्ष निरन्तर अगाडि बढ्ने बताउँदैं यसमा कुनै शंका गर्नुपर्ने आवश्यक नभएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता दिलिप प्रजापतिले मुलुकमा संबिधानको रक्षा लोकतन्त्रको सस्थागत विकासका लागि निर्माण भएको गठबन्धनले आगामी पाँच वर्ष मुलुकले नेतृत्व गर्ने दावी गर्नुभयो ।
के पी ओलिले मुलुकलाई भडखालोमा हाल्न खोजेको र संबिधान मास्न खोजेको बताउदैं उहाँले देशीबिदेशी शक्ति संग मिलेर संबिधानमा लात मारेर दुई दुई पटक संसद भंग गरेर अधिनायक बाद लाद्न खोज्ने ओलीहरुलाई आगामी निर्वाचनले परास्त गर्ने दावी गर्नुभयो । उहाँले मुलुकमा सदासदाका लागि बेरोजगारी अन्त्य गर्ने काम मंसिर ४ पछिको गठबन्धनको सरकारले गर्नेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य नारायणभक्त खायमली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेत, नेकपा एकिकृत समाजवादीका नेता दिलिप केसीलगायतले मंसिर ४ मा लोकतान्त्रिक शक्तिहरु पराजित भए मुलुकको लोकतन्त्र र संविधान थप संकटमा पर्ने जिकिर गर्नुभयो ।