शंखधर दिवसको अवसरमा दिप प्रज्वलन

भक्तपुर, कार्तिक १७
शंखधर दिवसको अवसरमा मध्यपुर थिमि ४, शंखधरचोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा परिसरमा बिहिवार दिप प्रज्वलन गरिएको छ । नेपाल सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले शंखधर दिवसको रुपमा मनाउँदैं आएको छ । सोही अवसरमा मध्यपुर थिमि नगरपालिकाले प्रतिष्ठानको सहकार्यमा दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो धनलाई जनहितमा उपयोग गर्ने शंखधर साख्वाको सम्मानमा सरकारले राष्ट्रिय विभूति घोषणा गरेको जनाउँदैं त्यसलाई मध्यपुर थिमि नगरपालिकाले जनस्तरमा लैजाने प्रयास स्वरुप शंखधर दिवसमा विविध कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले यसवर्ष निर्वाचनका कारणलाई बृहत बनाउन नसकिएको बताउँदैं आगामी वर्ष कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने जानकारी दिनुभयो । उहाँले शंखधरको कार्यबाट सबैले प्रेरणा लिएर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।


उपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले विगतमा शंखधर दिवसको दिन सार्वजनिक बिदा दिने गरेता पनि सेवाग्राहीको सुविधालाई ध्यान राख्दै यसवर्ष कटौती गरिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर दिवस र शंखधरको योगदानका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।
सो अवसर मध्यपुर थिमि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।