निर्वाचन मैत्री नभएका भक्तपुरका केही मतदान स्थल स्थानान्तरण गर्नुपर्ने

भक्तपुर, कार्तिक १६
भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जिल्लाका केही मतदान स्थल स्थानान्तरण गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयले नेपाल पत्रकार महासंघ भक्तपुरको सहकार्यमा बुधवार आयोजित जिल्लास्थित पत्रकारहरुलाई निर्वाचनमा सञ्चारमाध्यम र पत्रकारहरुको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बास्तोलाले साँघुरो स्थान र निर्वाचन मैत्री नभएका कारण केही मतदान स्थल स्थानान्तरण गर्नुपर्ने आवश्यक भएको बताउनुभयो ।
उहाँले गत स्थानीय निर्वाचनको तुलनामा मंसिर ४ गतेको निर्वाचनका लागि केही मतदान स्थल स्थानान्तरण गरी थप व्यवस्थित बनाएको जानकारी दिँदैं केही मतदान स्थल राजनीतिक दल, स्थानीय तहको असहमति र वैकल्पिक स्थानको अभावमा स्थानान्तरण गर्न नसकिएको बताउनुभयो ।


उहाँले सञ्चारमाध्यम र पत्रकारहरुले त्यस्ता मतदान स्थलको अवलोकन गरी समाचार सम्प्रेषण गर्न सुझाव समेत दिनुभयो । उहाँले निर्वाचन निष्पक्ष, स्वतन्त्र र स्वच्छ वातावरणमा सम्पन्न गर्न पत्रकारहरुको पनि ठूलो भूमिका हुने भन्दै सोही अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
बास्तोलाले स्वतन्त्र प्रेस बिना लोकतन्त्र बलियो बन्न नसक्ने बताउँदैं निर्वाचन लोकतन्त्रको आधार भएकोले निर्वाचन प्रक्रियामा भएका वा हुनसक्ने गल्ती र कमीकमजोरी औल्याएर त्यसलाई सुधार्न प्रेसले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । मिडिया र पत्रकार राज्यको सशक्त दबाब समूह समेत भएको भन्दै उहाँले निर्वाचनलाई सफल बनाउन जनताको आवाज मिडियाले बोल्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनलाई सफल बनाउन पत्रकारहरुले विगतदेखी नै सहयोगी भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै मंसिर ४ गतेको निर्वाचनमा पनि सहयोगको अपेक्षा राख्नुभयो । उहाँले निर्वाचनलाई थप प्रभावकारी र सफल मनाउन बिहिवारबाट जनताको घरदैलोमा मतदाता शिक्षा कार्यक्रम शुरु हुने जानकारी दिनुभयो । पत्रकार सबैका साझा हुने धारणा व्यक्त गर्दै उहाँले पेशागत मूल्य मान्यता र आदर्शमा रहेर साझा चरित्र प्रदर्शन गर्न र जनतालाई सूसुचित गर्दै निर्वाचनलाई सफल पार्न प्रेरित गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका विषयको प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले प्रस्तुतीकरण मार्फत पत्रकारहरुले अन्य बेला भन्दा निर्वाचनका बेला पत्रकारहरु बढी सचेत, चनाखो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रपत्रिकामा तस्विर प्रकाशन गर्नेदेखी कुन समाचारलाई कुन पेजको कुन स्थानमा राख्ने भन्ने विषयले समेत निर्वाचन प्रभावित हुन सक्ने भएकाले त्यस्ता विषयमा समेत पत्रकार र मिडियाले ध्यान दिनुपर्ने बताउनुभयो ।
पत्रकारले आफ्नो पेशागत आचारसंहिता पालन गरेमात्र पनि जनताले सहि सूचना प्राप्त गर्न सक्ने बताउँदैं उहाँले पत्रकारले राजनीति बुझ्न पर्ने तर पक्ष विपक्षमा उभिएर समाचार सम्प्रेषण गर्नु नहुनेमा जोड दिनुभयो ।
उहाँले मतदातालाई सहि र योग्य उम्मेदवार छनौटमा सहयोग पुग्ने गरी विश्लेषणात्मक र तथ्यपरक समाचार पस्कन समेत सुझाव दिनुभयो । जनविश्वास नै पत्रकारिताको मुख्य सम्पत्ति भएकाले त्यसलाई तोड्न नहुने तर्क गर्दै उहाँले स्वतन्त्र श्रोतबाट पुष्टि हुने समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दल र उम्मेदवारलाई जिल्लाको एजेन्डा दिनसक्ने गरी मिडिया र पत्रकार सशक्त बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘मतदातासम्म पुगेर पत्रकारहरुले जनप्रतिनिधिबाट अपेक्षा गरेका विषय बाहिर ल्याउने र उम्मेदवारलाई त्यसप्रति प्रतिवद्ध बनाउने काम पनि मिडिया र पत्रकारले गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो । निर्वाचन मिडिया र पत्रकारको पनि परीक्षाको समय भएको भन्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनलाई पूर्ण सफल पार्नुपर्ने प्रष्ट पार्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकारहरुले पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै आएको स्मरण गराउँदैं निर्वाचनका बेला जारी हुने निर्वाचन आचार संहिता, पत्रकार र सञ्चारमाध्यमहरुको भूमिकाको बारेमा आयोजित कार्यक्रमले पत्रकारहरुलाई पुनर्ताजगी गराएको बताउनुभयो ।

त्यस्तै जिल्ला निर्वाचन अधिकारी नरेन्द्र प्रसाद अधिकारीले निर्वाचन र सञ्चारमाध्यम विषयको प्रस्तुतीकरण गर्दै निर्वाचनका बेला पत्रकार र सञ्चारमाध्यमहरुले पालना गर्नुपर्ने आचार संहिता र आचार संहिता उलंघन गरे हुने कारवाहीका बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले निर्वाचनबारे शिघ्र सूचना दिन पत्रकारसँग भाइबर ग्रुप मार्फत जोडिएको जानकारी दिंदै पत्रकारले निर्वाचन सँग सम्बन्धित सूचना आधिकारिकरुपले पुष्टि गरी प्रेषित गर्न सुझाव दिनुभयो । आम मतदाताले समेत निर्वाचन संग सम्बन्धित प्रश्न भए निशुल्क नम्बर ११०२ मार्फत समाधान पाउन सक्ने जानकारी दिनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकनाथ पराजुली, जिल्ला प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसी, सशस्त्र प्रहरी बल २२ नम्बर गणका गणपति नरबहादुर रावत, इन्द्रबक्स गण सूर्यविनायकका गणपति श्यामराजा बिक्रम थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष विकल श्रेष्ठ लगायत २ दर्जन पत्रकारको उपस्थिति रहेको आयोजक निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।