सद्भावको पर्व बन्दै छठ

लक्ष्मी गारु, भक्तपुर, कार्तिक १४
भक्तपुर नगरपालिका–१० कमलपोखरीको किनारमा आइतवार साँझ सोही स्थानकी सानु श्रेष्ठले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए । धकियामा केरा, नरिवल, माल्पा र पुरी सजाएर बसेका श्रेष्ठले पारिवारिक सुख, शान्ति र सन्तानहरुको उज्जवल भविष्यको प्राथना गर्दै छठको ब्रत लिएको बताइन । उहाँले तीन वर्षदेखि पारिवारिक सुख शान्तिको लागि सूर्यको आरधना गर्दै छठको ब्रत बस्दै आएको बताइन् ।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार भईरहेकी भक्तपुर च्याम्हासिंहकी मायाँ श्रेष्ठले पारिवारिक पारिवारिक सुख शान्ति र कल्याणको निम्ति छठको ब्रत लिएको बताईन । उहाँले सात वर्षदेखि यो व्रत बसेको र बसेदेखि पारिवारिक मनोकाक्षा पुरा भएको बताइन । उहाँले भन्नुभयो,“मैले छठको ब्रत बसेदेखि मेरो घर परिवारमा सुख शान्ति छाएको छ । मैले लिएको ब्रतले मेरा सन्तानहरु चाहना पुरा भएको छ । मैले सकुञ्जेल यो ब्रत बस्छु । अरुलाई पनि यो ब्रत बस्न आग्रह गर्छु । यस पर्वलाई सदभावको पर्वको रुपमा लिनु पर्छ ।”
तराई मधेशका मधेशी समूदायले मनाउने छठ पर्व केही समयदेखि काठमाडौं उपत्यका र अन्य समूदायमा समेत लोकप्रिय बन्दै गईरहेको छ । भक्तपुरको कमलपोखरीमा मधेशी समूदायले मात्र होईन पहाडी र नेवार समूदायले समेत छठीमाईको पुजा गरी छठको ब्रत बसेका छन् ।
सद्भाव अनि भातृत्वको प्रतिक छठ पर्वमा बडो हर्षोल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारेर तयार पारिएका घाटहरुमा छठीमाताको पुजा आराधना गरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई दूधको अघ्र्य दिएर यो चाड मनाईन्छ ।


चार दिन मनाइने छठ पर्वको पहिलो दिनलाई अरबा अथवा नुहाई खायु, दोश्रो दिनलाई खर्ना, तेश्रो दिनलाई सँझिया अघ्र्य र चौंथो दिनलाई विहनीया अघ्र्य भनिन्छ ।
चार दिन मनाईने भएपनि यो पर्वको तेस्रो दिनलाई विशेष मान्निछ । यसदिन ब्रतालुहरुले दिनभर निलाहार ब्रतबसी नदि, तलाउ किनारमा घाट सजाएर छठी माताको पुजा गर्ने र साँझ नदि तलाउमा कम्मरसम्मको भाग पानीमा डुवाएर अस्ताउँदो सूर्यलाई दुधको अघ्र्य दिईन्छ । त्यसपछि ब्रतालुहरु रातभर नदि, तलाउ र पोखरीको किनारमा जागामबसी भजनकिर्तन गाउने, नाचगान गर्ने र बिहान पुनः नदि, तलाउ र पोखरीमा कम्मरसम्मको भाग पानीमा डुवाएर उदाउँदो सूर्यलाई दुधको अघ्र्य दिएर ब्रत समाप्त गरिन्छ ।
छठपर्व सामाजिक सद्भावको रुपमा विकास हुन थालेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन । आइतवार साँझ रातभर जाग्रम बसेका व्रतालुहरुले आज (सोमवार) बिहान उदाउँदो सूर्यलाई विधिवत पुजा गरी अघ्र्य दिएपछि व्रता समाप्त हुन्छ ।
पौराणिक ग्रन्थ महाभारतका अनुसार पाँच पाण्डपहरुको गुप्तवासको क्रममा पाँच पाण्डपसहित द्रौपदीले सूर्यको आराधनागरी गुप्तवास सफल होस् भनी कामना गरी यो व्रत लिएको थियो । सोही अनुसार छठको ब्रतको परम्परा शुरु भएको जनविश्वास रहेको छ ।
त्यसैगरी अत्रिमुनीका पत्नी अनुसुयाले सूर्यको पुजा आराधनागरी छठको ब्रत बसेको र सोही ब्रतका प्रभावले उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकाले छठको ब्रतको थालनी भएको सूर्य पुराणमा उल्लेख भएको पाईन्छ । कात्तिक शुक्लपक्षमा छठ पर्वमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत रहेको पाईन्छ ।