प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न

भक्तपुर, कार्तिक १३
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगले प्रत्यक्ष तर्फ प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको शनिवार जनाएको हो ।
मतपत्र छपाईसँगै आयोगले मतपत्र ढुवानी समेत शुरु गर्ने भएको छ । आयोगका अनुसार सोमवार (आज)बाट सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलाका लागि प्रत्यक्ष तर्फको मतपत्र ढुवानी हुने भएको छ ।
यसैगरी उल्ल्ेखित जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ । साथै अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने आयोगले जनाएको छ ।