गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न सभापति देउवाको निर्देशन

भक्तपुर, कार्तिक ९
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मध्यपुर थिमिमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख मा अन्य दललाई दिनुपरेको बताउँदैं त्यसको क्षतीपुर्ति निर्वाचन पछि सम्बोधन गर्ने बताउनुभएको हो ।
सभापति देउवा थिमिको शंखधर चोकमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजित माल्यापर्ण कार्यक्रमका लागि थिमि आउनुभएको थियो । सो कार्यक्रम पश्चात सभापति देउवा कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुग्नुभएको थियो ।
अत्यन्त छोटो सम्बोधन गर्नुभएका सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानु परेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नु परेको स्पष्ट पार्नुभयो । उहाँले उपस्थित नेता कार्यकर्ताहरुलाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन निर्देशन समेत दिनुभयो ।
उहाँले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचन पछिको सरकारमा मन्त्री बनाउने आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का साझा उम्मेदवार दुर्लभ थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेष गरी मध्यपुर थिमि नगर क्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रुपमा रहेको मध्यपुर थिमि नगर क्षेत्र समावेश भएको भक्तपुर २ (ख)को प्रदेश सभा सदस्य गठबन्धनका दललाई दिएपनि समानुपातिक तर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गर्नुभएको थियो ।