लोकतान्त्रिक सरकार स्थापनाका लागि मंसिर ४ को आमनिर्वाचन – प्रधानमन्त्री देउवा

लक्ष्मी गारु, भक्तपुर, कार्तिक ९
प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गतेको आमनिर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताउनुभएको छ । नेपाल संवत ११४३ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर थिमिको शंखधर चोकमा बुधवार आयोजित माल्यापर्ण कार्यक्रममा प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको निर्वाचन मुलुकको संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएकाले निर्वाचनलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्यमा आवश्यक भएको बताउनुभएको हो ।


“आमनिर्वाचन मुलुकको संविधान रक्षा, लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक समृद्धि, नागरिकको लोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रताको लागि महत्वपूर्ण रहेको छ । त्यसैले मंसिर ४ गतेको आमनिर्वाचन सबै मिलेर सफल बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र जालझेलरहित वातावरणमा सम्पन्न गर्न सबै तयारी पुरा भइसकेको जानकारी दिनुभयो ।
उहाँले लोकतान्त्रिक सरकारबाट मात्रै मुलुकका भाषा, धर्म, सँस्कृतिहरुको समान संरक्षण गरी विकास र बिस्तारको कार्य अघि बढ्न सक्ने बताउँदैं निर्वाचनमा सबै सक्रियताका साथ सहभागी भई मुलुकमा लोकतान्त्रिक सरकार स्थापनामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


नेपालमा अझै पनि धेरै नागरिक गरिवीको रेखामुनी रहेको, अति विपन्न, असमानता रहेको बताउँदैं प्रधानमन्त्री देउवाले गरिवी र असमानताको अन्त्यका लागि नेपाली जनताको आर्थिक स्तर बृद्धि गरी जनतालाई सुखी र समृद्ध तुल्याउन शंखधर साख्वाको उदाहरणीय कार्यले सबैले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो । “साख्वाको बाटोमा सबैले प्रतिवद्ध भएर हिँड्न सके मुलुकबाट गरिवी असमानता, विपन्नता अन्त्य गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले साख्वाको कार्य सबैको गौरवको विषय भएकोले साख्वाको व्यक्तित्वबाट व्यक्तिगत भन्दा सामूहिक हितलाई आत्मसाथ गरी अघि बढ्ने प्रेरणा मिल्ने बताउनुभयो । “नेपालको सामाजिक ईतिहासलाई उचो राख्ने साख्वाको जस्तो महान व्यक्तित्वबाट व्यक्तिगत हित भन्दा सामूहिक हितलाई र व्यक्तिगत हित भन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढाउन सके मात्र मुलुकको हित हुन्छ । साख्वाको जीवनीबाट सबैलाई यही प्रेरणा मिल्नेछ,” उहाँले भन्नुभयो ।


नेपाल संवत नेपालको मौलिक संवत भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवतले राष्ट्रिय मान्यता पाएसँगै यसको प्रयोगबारे व्यापकता पाएको र यसको व्यवहारिक प्रयोगका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आधारभुत विद्यालयको पाठ्यक्रममा राष्ट्रिय विभुति शंखधर साख्वाको बारेमा अध्ययन अध्यापन गराउने व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले साख्वाको योगदानलाई कदर गर्दै नेपाल संवत र राष्ट्रिय विभूति शंखधर साख्वाको बारेमा उल्लेख्य कार्य गर्ने ३ जनालाई प्रत्येक वर्ष एक लाख नगद राशीको पुरस्कार प्रदान गर्ने व्यवस्थाको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।


उहाँले नेपाल संवतलाई वैज्ञानिक र व्यवहारिक रुपमा सरकारी र दैनिक जीवनमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सरकारी स्तरमा समेत छलफल भइरहेको बताउनुभयो । नेपाल संवत र साख्वाको योगदानलाई जनस्तरमा लैजाने अभियान चलिरहेको र सो अभियानलाई सरकारले पूर्ण साथ सहयोग दिने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शंखधरको सम्मानमा नगरपालिकाले निर्माण गरेको शंखधर पार्कलाई पूर्णता प्रदान गरी लाईभ म्यूजियमको रुपमा विकास गर्न नगरपालिकाले यसै आर्थिक वर्ष एक करोड भन्दा बढी बजेट विनियोजन गरेको बताउनुभयो ।
काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपाल संवतलाई व्यवहारिक रुपमा प्रयोग गर्न नसके राष्ट्रिय संवत घोषणा गर्नुको अर्थ नहुने बताउनुभयो ।


प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न् कार्यक्रममा नेपाल संवत, शंखधर साख्वाको योगदान र नेपाल भाषाको क्षेत्रमा उल्लेख्य कार्य गर्ने विभिन्न महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले विगत ६१ वर्षदेखि नेपाल सम्वत् र नेपालभाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हक अधिकारको निम्ति विराट नेपालभाषा साहित्य सम्मेलन मार्फत जनतालाई सुसजित गर्दै थुप्रै जनपक्षिय साहित्यकारहरु उत्पादन गरेको कार्यको मूल्यांकन गरी शंखधर सम्मान बाट सम्मानीत गर्नुभएको थियो ।
यसैगरी शंखधर साख्वाः र नेपाल सम्वत्को बारेमा अध्ययन अनुसन्धान गर्दै संस्थागत विकासमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा निर्माणदेखि शंखधर प्रतिष्ठान स्थापना गरी महत्वपूर्ण योगदान गर्नु भएको प्रतिष्ठानका पुर्व अध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि शंखधर सम्मानद्वारा सम्मान गरिएको थियो ।


प्रतिष्ठानले नेपाल सम्वतको बारेमा संस्कृति, गीत–संगीत, साहित्यिक, पत्रकारिता रअनुसन्धान–अन्वेशनमा योगदान गरेवापत ‘शंखधर पदक’ द्वारा नेपाल सम्वतलाई व्यवहारिक रुपमा लागु गर्ने काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरबाबु महर्जन, गीत संगीतबाट पवित्र कसांकार, साहित्यिकतर्फबाट तिलकप्रकाश कायस्थ र सञ्चारकर्मी सुगतरत्न सिन्दुराकार गरी पाँच जनालाई सम्मान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले शंखधर साख्या बुलेटिनको विमोचन समेत गर्नुभएको थियो ।

तस्विर, जगत प्रजापति