नेपालको मौलिक संवत नेपाल संवत आजबाट शुरु, देशभर विविध कार्यक्रम गरी मनाईंदैं

भक्तपुर, कार्तिक ९
नेपालको मौलिक संवत नेपाल संवत अनुसार आजबाट नयाँ वर्ष ११४३ शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छविकालका राजा राघवदेव शासनकाल वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिवहरुको ऋणमोचन गरी नेपाल संवत् शुरु गरेको तथ्य रहेको छ ।
नेपाल संवतलाई केही दशकअघि सम्म नेवार समुदायले मात्र न्हुँ दँ या भिन्तुना भन्दै भिन्तुना (नयाँ वर्षको शुभकामना भन्दै शुभकामना) कार्यक्रम गर्दै मनाउँदें आएपनि हाल यो संवतलाई राष्ट्रिय संवत घोषणा गरी सरकारी स्तरमा समेत मनाउन थालिएको छ ।
यो संवतलाई नेपाललाई एक स्वतन्त्र राष्ट्रको रुपमा संयुक्त राष्ट्र संघमा दर्ता गर्ने क्रममा नेपालको मौलिक संवतको रुपमा समेत दर्ता गरिएको छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ ।
नेपाल संवतलाई २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । त्यसअघि २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
नेपाल संवतको अवसरमा भक्तपुरको थिमि शंखधरचोकस्थित साख्वाको प्रतिमामा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा प्रधानमन्त्री स्वयम् सरिक हुँदैं आउनुभएको छ । राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले नियमित रुपमा सम्पन्न गर्दै आइरहेको यो कार्यक्रमलाई प्रधानमन्त्रीको सचिवालयले समेत वार्षिक क्यालेण्डर (पात्रो)मा जनाउने गरिएको छ । यसवर्ष पनि यो कार्यक्रमका लागि प्रधानमन्त्री शेर बहादुर देउवा सरिक हुने कार्यक्रम रहेको छ । कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाले अपनत्व लिँदैं सहकार्य गर्दै आइरहेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।