ललितपुर क्षेत्र नं. ३ डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

भक्तपुर, कार्तिक १३
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको देखिएको र उहाँले काउन्सिलको बैठकमा सहभागी भइृ भत्ता बुझेको देखिएकोले आयोगले आइतवार उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ,’ आयोगले जारी विज्ञप्तीमा उल्लेख छ ।
डा. कार्कीको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको थियो ।
छानविनका क्रममा डा. कार्की २०७८ पुस २ गते ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९ बैशाख ९ गते देखि २०७९ भदौ २ गते सम्म भत्ता बुझेको पाइएको आयोगले जनाएको छ ।
“नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले डा. कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको र (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन” आयोगले उल्लेख गरेको छ ।