मणिमण्डप महाविहारमा कथिन चीवर दानोत्सव

सुनीता तुलाधर, ललितपुर, कार्तिक ६ गते ।

मणिमण्डप महाविहारका विहार प्रमुख एवं अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४७ औं वर्षावास र भिक्षु गवेसकोले प्रथम वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा शनिवारका दिन उक्त विहारमा भिक्षु महासंघलाई कथिन चीवर दान गरियो ।
ललितपुर, क्वयलाछिका ९७ वर्षिया पूर्णमाया अवाले सहित आशाराम, प्रेमरत्न, आशामाया, नानीमाया, लक्ष्मी, बिणा तथा परिवारले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरलाई कथिन चीवर दान गरेका थिए ।


भिक्षु शीलभद्र महास्थविरले उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुका साथै बुद्धपुजा गराउनु भएको थियो भने भिक्षु सुमेध महास्थविरले कथिन दानको महत्व र आनिशंसको बारेमा धर्मदेशना गर्नुभएको थियो । धर्मदेशनाका क्रममा उहाँले भगवान बुद्धले समेत कथिन दानलाई प्रशंसा गर्नुभएको कुरा बताउनुभयो । विनयपूर्वक वर्षावास पूरा गर्नुहुने भिक्षुको कारण कथिन दातालाई कथिन चीवर दान गर्ने सौभाग्य प्राप्त हुन्छ, साथ साथै कथिन दान कसलाई किन, कहिले हुन्छ भनेर पनि भिक्षु सुमेध महास्थविरले प्रकाश पार्नुभयो ।


उक्त कथिन दानका दिन ९८ जना उपासकउपासिकाहरुले दान गर्नुभएको अष्टपरिष्कारको सम्पूर्ण रकम लुम्बिनीमा निर्माणाधीन थेरवाद बुद्ध बिहार निर्माणका लागि आर्थिक सहयोग स्वरुप जाने जानकारी भिक्षु शीलभद्र महास्थविरले उक्त कार्यक्रममा बताउनुभयो ।
कार्यक्रमको शुरुवातमा कथिन चीवरलाई कथिन दाताका घर च्यासल, क्वयलाछिबाट मणिमण्डप महाविहारसम्म श्रद्धालु उपासकउपासिकाहरुले कथिन जात्रा गरी ल्याई पुर्याएका थिए र अन्त्यमा विभिन्न विहारबाट आउनुभएका भिक्षु, गुरुमांहरुलाई उपासकउपासिकाहरुले दान प्रदान गरेका थिए ।