मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी होड रोमाञ्चक मोडमा

भक्तपुर, कार्तिक ६
सानो थिमि मैदानमा जारी मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी होड थप रोमाञ्चक मोडमा पुगेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनामा जारी लिगको ३२ औं खेलमा वडा नं. १ वडा नं. ५ सँग बराबरीमा रोकिएपछि लिग उपाधी होड रोमाञ्चक मोडमा पुगेको हो ।
वडा नंं १ लाई बारबरीमा रोक्न वडा नं. ५ का सिजन प्रजापतिले गोल गरेका थिए भने वडा नं. १ का लागि कप्तान सविन डंगोलले गोल गरेका थिए । खेलमा वडा नं. १ का प्रसिव खड्का म्यान अफ दि म्याच घोषित भए । बराबरी नतिजाका बाबजुद वडा नं. १ लिगको शिर्ष स्थानमा रहेको छ ।


कुल ९ टोली सहभागी लिगका कुल ३६ खेल हुनेछ । लिगमा अब ३ खेल बाँकी रहेको छ । लिगमा ८ औं चरणका खेल शुरु भइसकेको छ । शिर्ष स्थानमा रहेको वडा नं. १ ले ७ खेलमा ५ जित, एक हार र एक बराबरी नतिजाका साथ १६ अंक जोडेको छ । वडा नं. १ को अब एक खेल बाँकी छ । उसले लिगको अन्तिम खेलको रुपमा तुलनात्मकरुपमा कमजोर टोली वडा नं. २ सँग खेल्ने छ ।
दोस्रो स्थानमा रहेको वडा नं. ९ को १५ अंक रहेको छ । उसले ७ खेलमा ५ जित र दुई हार व्यहोरेको छ । लिगको तेस्रो स्थानमा वडा नं. ५ रहेको छ । उसले ८ खेलबाट १३ अंक बटुलेको छ । आफ्नो सबै खेल खेलिसकेको वडा नं. ५ ले ३ जित, ४ बराबरी र एक हार व्यहोरेको छ ।


लिगमा वडा नंं ७ चौंथो स्थानमा रहेको छ । उसले ७ खेलबाट ४ जित, एक बराबरी र दुई हारका साथ १३ अंक बटुलेको छ । वडा नं. ५ र वडा नं. ७ को अंक बराबर भएपनि गोल अन्तरका कारण वडा नं. ७ पछि परेको हो । वडा नं. ७ ले पनि एक खेल खेल्न बाँकी रहेको छ ।
लिगको ५ औं स्थानमा वडा नं. २ रहेको छ । उसले ७ खेलमा ३ जित, २ हार र २ बराबरीका साथ ११ अंक जोडेको छ । वडा नं. २ ले अन्तिम खेल वडा नं. १ सँग खेल्नेछ । वडा नं. ८ ले पनि ११ अंक जोडे पनि गोल अन्तरका कारण छैंटौं स्थानमा रहेको छ । वडा नं. ८ ले पनि ७ खेलमा ३ जित, २ हार र २ बराबरी व्यहोरेको छ ।


वडा नं. ६ लिगको सातौं स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको वडा नं. ६ ले २ जित, ३ हार र २ बराबरीका साथ ९ अंक जोडेको छ भने लिगका आठै खेल खेलिसकेको वडा नं. ३ र ४ क्रमशः आठौं र नवौं स्थानमा रहेको छ । वडा नं. ३ ले लिगमा एक जित र ७ हार व्यहोर्दै ४ अंक जोडेको छ भने वडा नं. ४ ले ८ खेलमा एक बराबरी र ७ हार व्यहोर्दै एक अंक मात्र जोडेको छ।