मध्यपुर थिमि वडा लिग फुटबलमा वडा नं. ९ को शानदार जित

भक्तपुर, कार्तिक २
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले शानदार जित निकालेको छ । सानोथिमिस्थित मैदानमा जारी प्रतियोगितामा बुधवार सम्पन्न एक मात्र खेलमा वडा नं. ९ ले वडा नं. ७ माथि ५–० को शानदार जित निकालेको हो । जितसँगै वडा नं. ९ लिगको तेस्रो स्थानमा उक्लेको छ । उसले ६ खेलबाट १२ अंक जोडेको छ ।
वडा नं. ९ को जितमा कप्तान यमन राजबहाकले २ तथा अमन राजबहाक, विज्ञान राजबहाक र रोनिस धेकेले एक एक गोल गरे । पहिलो हापमा एक गोलले अग्रता लिएको वडा नं. ७ ले दोस्रो हापमा थप ४ गोल गरेका थिए ।


खेलको १४ औं मिनेटमा वडा नं. ९ का अमनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा नेपाली यु–२० राष्ट्रिय टोलीका समेत मिडफिल्डर रहेका वडा नं. ७ का क्रितिश रत्न छुँजु घाईते भएर मैदान बाहिर गएपछि वडा नं. ७ को खेल सुस्ताएको थियो ।
दोस्रो हापको छैंटौं मिनेटमा नै वडा नं. ९ ले अग्रता दोब्बर पारे । उसका लागि विज्ञानले गोल गरेका थिए । त्यसको ठिक १० मिनेटपछि कप्तान यमनले गोल गर्दै टोलीको अग्रता ३–० बनाए । खेलको ६६ औं मिनेटमा वडा नं. ७ ले अर्को गोल थपे । उक्त गोल रोनिसले गरे । ७३ औं मिनेटमा कप्तान यमनले व्यक्तिगत दोस्रो र टोलीको लागि पाँचौं गोल गर्दै अग्रता फराकिलो बनाए । खेलमा म्यान अफ दि म्याच वडा नं. ९ का सन्देश केसी घोषित भए भने वडा नं. ७ का रमेश सिन्केमनले पहेंलो कार्ड पाएका थिए ।