मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा चोरी

भक्तपुर, कार्तिक २

मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा गएराती चोरी भएको छ । लोहकिल्थलीको मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्र नजिक रहेको सो कार्यालयमा भुईतल्लामा रहेको हेल्थ पोष्ट प्रवेश गर्ने मुल ढोकाको ताला फोडेर चोरी भएको हो ।
चोरी गर्ने समूहले वडा कार्यालयमा रहेका सबै कम्प्युटर, हेल्थ पोष्टको कम्प्युटर, सीसी क्यामराको ५२ ईन्चको मनिटर, केही नगद, भान्छा कोठाको भाँडाकुँडालगायतका सामान चोरी गरेको वडा अध्यक्ष बाबुकाजी डंगोलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयमा ६ वटा र हेल्थ पोष्टमा एउटा कम्प्युटर थिए । ती कम्प्युटरका मनिटर र सिपियु चोरी भएका छन । कार्यालयका सबै कम्प्युटर चोरी भएपछि बुधवार कार्यालयको सेवा समेत अवरुद्ध भएको थियो ।
यसैगरी प्रशासन शाखाको दराज फोडेर भुईमा लडाएको थियो भने अर्को दराज फोडी त्यसभित्र रहेका कम्बल र व्लांकेट समेत चोरी भएको वडा अध्यक्ष डंगोलले बताउनुभयो ।


घटनाको बारेमा वडाका कर्मचारी र जनप्रतिनिधिले कार्यालय समयमा मात्र जानकारी पाएका थिए । वडाका कार्यालय सहयोगी शोभा प्रजापतिले कार्यालयमा पुग्दा सीसी क्यामराको मनिटर नदेखेपछि चोरी भएको जानकारी पाएको बताउनुभयो । उहाँले नै वडाअध्यक्षलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । “मुल ढोका खोली कार्यालयमा प्रवेश गर्दा मनिटर देखिन । चोरी भएको आशंकामा वडाअध्यक्षलाई जानकारी गराएँ,” उहाँले भन्नुभयो ।
घटनाको जानकारी पाउने बित्तिकै महानगरिय प्रहरी वृत्त थिमिको टोली घटनास्थल पुगेर अनुसन्धान गरेका थिए । अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेका थिए ।


त्यसैगरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पनि घटनास्थलको निरिक्षण गरी वडाको काम तत्काल सूचारु गर्न आवश्यक प्रवन्ध मिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । साथै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदी, महाशाखा प्रमुख केशव सिलवाल लगायतका नगरपालिकाका वरिष्ठ कर्मचारीहरुले घटनास्थलको निरिक्षण गर्नुभएको थियो ।