चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट, प्रजिअलाई बुझाए ज्ञापनपत्र

भक्तपुर, कार्तिक ४
बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन । उनीहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाएका छन ।
ज्ञापनपत्रमा बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ ।
यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराएको छ ।
यसैगरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।
मौजूदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरु धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रिय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्ने तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीङ संघ, नेपाल औषधी व्यवसायी संघ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापन पत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।