मध्यपुर थिमि वडा लिगमा वडा नं. ५, १ र ३ को जित

भक्तपुर, असोज ३०
मध्यपुर थिमिको सानोथिमिमा जारी मध्यपुर थिमि वडा लिगमा आइतवार सम्पन्न खेलमा वडा नं. ५, १ र ३ विजयी भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजन तथा व्यवस्थापनमा जारी लिगमा वडा नं. ५ ले ९, वडा नं. १ ले ६ र वडा नं. ३ ले ४ लाई पराजित गरेको हो ।
लिगको २० औं खेल अन्तर्गत आइतवार बिहान सम्पन्न खेलमा वडा नं. ५ ले वडा नं.९ लाई ३–० ले पराजित गरे । खेलको ११ औं मिनेटमा नविन कुटुले गोल गर्दै वडा नं. ५ लाई अग्रता दिलाए ।


खेलको ७८ औं मिनेटमा डिफेन्डर सुदर्शन श्रेष्ठले पेनाल्टी सुट मार्फत गोल गरी वडा नं. ५ को अग्रता दोब्बर पारे । प्रफुल श्रेष्ठले खेलको अन्तिम मिनेटमा गोल गर्दै वडा नं. ५ को जित पक्का गरे ।
खेलमा वडा नं. ९ का रोनिस धेके राजबाहक र यमन राजबाहकले पंहेलो कार्ड पाएका थिए भने वडा नं. ५ का राज प्रजापति र सृजन प्रजापतिले पंहेला कार्ड पाए । खेलमा वडा नं. ५ का गोलकिपर सरिन नापित म्यान अफ दि म्याच घोषित भए ।


त्यसैगरी दोस्रो खेलमा वडा नं. १ ले वडा नं. ६ लाई १–० ले पराजित गरे । वडा नं. १ का रन्जेश डंगोलले खेलको ८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलमा वडा नं. १ का राहुल खड्का म्यान अफ दि म्याच घोषित भए । वडा नं. ६ का सुसान प्रजापति र जेनिश प्रजापति, वडा नं. १ राजमान द्वारेले पहेंलो कार्ड पाए ।
त्यस्तै दिनको अन्तिम खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरे । ३ ले ४ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।


वडा नं. ३ को जितमा आसेन्द्र कटुवाल, सञ्जीव कुटु र सुगम खड्काले गोल गरे भने वडा नं. ४ का लागि रविक श्रेष्ठले एक गोल गरे ।
खेलमा ओसेन्द्रले ७ औं मिनेटमा गोल गर्दै वडा नं. ३ लाई अग्रता दिलाए । पहिलो हापको अन्तिम मिनेटमा सञ्जीवले गोल गर्दै वडा नं. ३ को अग्रता दोब्बर बनाए । खेलको ८३ औं मिनेटमा सुगमले गोल गर्दै जितको नजिक पुर्याए ।
खेलको ९० औं मिनेटमा वडा नं. ४ का रविक श्रेष्ठले गोल गर्दै हारको अन्तर कम गरे । खेलमा दुवै टोलीले गोलका केही अवसर खेर फालेका थिए । खेलको म्यान अफ दि म्याच वडा नं. ३ का आसेन्द्र घोषित भए ।