शंखधर सम्मान विराट नेपालभाषा र मानन्धरलाई प्रदान गर्ने

फाइल तस्विर

भक्तपुर, असोज ३१
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले यसवर्षको “शंखधर सम्मान” विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ ।
नेपाल सम्वत् ११४३ नया“वर्षको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजना हुने शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।
विगत ६१ वर्षदेखि नेपाल सम्वत् र नेपालभाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हक अधिकारको निम्ति विराट नेपालभाषा साहित्य सम्मेलन मार्फत जनतालाई सुसजित गर्दै थुप्रै जनपक्षिय साहित्यकारहरु जन्माइसकेको ऐतिहासिक संस्था विराट गुथिलाई संस्थाले ६१ वर्षसम्म निरन्तर नेपाल सम्वत् र जातीय मुक्तिका लागि गरिरहेको संघर्षको योगदानलाई कदर गर्दै उक्त सम्मान गर्न लागेको प्रतिष्ठानका सचिव बाबुकाजी साःछे“ श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी बिसौं शंखधर साख्वाः र नेपाल सम्वत्को बारेमा अध्ययन अनुसन्धान गर्दै संस्थागत विकासमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा निर्माणदेखि शंखधर प्रतिष्ठान स्थापना गरी महत्वपूर्ण योगदान गर्नु भएको थिमि निवासी श्यामकृष्ण मानन्धरलाई यसवर्ष “शंखधर सम्मान”द्वारा सम्मान गर्ने भएको छ । शंखधर प्रतिष्ठानको संस्थापक सचिव हु“दै प्रतिमा निर्माण, शंखधरचोक नामांकरण, नेपाल सम्वत् र शंखधर साख्वाःको बारेमा व्यापक प्रचार प्रसारमा क्रियाशील रह“दै आउनु भएका प्रतिष्ठानको पूर्व अध्यक्ष मानन्धरलाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष सुरेश प्रधानले बताउनुभयो ।
यसवर्षदेखि नेपाल सम्वत्को बारेमा संस्कृति, गीत–संगीत, साहित्यिक, पत्रकारिता रअनुसन्धान–अन्वेशनमा योगदान गरेवापत “शंखधर पदक”द्वारा नेपाल सम्वत्लाई व्यवहारिक रुपमा लागु गर्ने काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरबाबु महर्जन, गीत संगीतबाट पवित्र कसांकार, साहित्यिकतर्फबाट तिलकप्रकाश कायस्थ र सञ्चारकर्मी सुगतरत्न सिदुराकार गरी पाँच जनालाई सम्मान गर्ने निर्णय गरेको छ ।