समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको एमाले उम्मेदवारको दावी

भक्तपुर, असोज ३०
नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरुले समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको बताउनुभएको छ । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा संघ तर्फका दुई र प्रदेश तर्फका चार जना उम्मेवारहरुले सिंहदरवारको अबको नेतृत्व भक्तपुरले गर्ने दावी समेत गर्नुभयो ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनता माझ परिचित पार्टी भईसकेकोले यसपटक तेब्बर मत ल्याई विजयी हुने दावी गर्नुभयो ।
राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने बस्नेतको भनाई थियो । भक्तपुरमा एमालेले विकासको लहर सिर्जना गरेकाले पनि लोकप्रिय रहेको उहाँले बताउनुभयो । उहाँले अब भक्तपुरले सिंहदरवारको नेतृत्व गर्ने समय आएको बताउनुभयो ।
निर्वाचन क्षेत्र न. १ (क) का उम्मेदवार एवम् एमाले भक्तपुर जिल्ला कमिटीका सचिब मोहनवीर श्रेष्ठले चाँगुनारायण क्षेत्र पर्यटकीय स्थल भएकाले सो क्षेत्रको प्रकृतिक र सांस्कृति महत्वलाई संरक्षण गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । “कृषिलाई आधुनिकिकरण गर्दै आवश्यक स्थानमा सिचाईको व्यवस्थापन गर्ने छु,” उहाँले भन्नुभयो ।
सडकहरुको स्तर उन्नती गर्ने र भक्तपुर– नगरकोट सडक खण्ड निर्माण गर्न दबाब दिने एमाले उम्मेदवार श्रेष्ठको भनाई छ । कार्यक्रममा श्रेष्ठले महिलाहरुलाई शिपमुलक तालिमको व्यवस्था गरि आयआर्जन गर्ने बाटो देखाउने कार्यक्रम संचानल गर्ने आफ्नो तयारी रहेको बताउनुभयो । “भक्तपुरमा निर्माण हुने तयारीमा रहेको वीर अस्पताल र झौखेलमा बन्ने भनिएको अंग प्रत्यारोपण केन्द्र तत्काल बनाउनमा सम्बन्धीत स्थानमा तोकता गर्ने छु,” उम्मेदवार श्रेष्ठले भने ।
भक्तपुर निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा तर्फका एमाले उम्मेदवार नारायण शुन्दर सिन्तकलाले भक्तपुर नगरमा रहेको खानेपानी समस्या समाधान गर्नु आफ्नो मुख्य चुनावी मुद्दा भएको बताउनुभयो । सिन्तकलाले भन्नुभयो, “हामीले जितेमा राज्यको नीति नियममा रहेर काम गर्ने छौं, ख्वप कलेज संंचालनपनि सोही अनुसार गर्ने छौं, ।”
सो कार्यक्रममा निर्वाचन क्षेत्र न. १ का उम्मेदवार नवराज गेलालले इटाँ भट्टाको प्रदुषणलाई हटाउन वैज्ञानिक तरिकाबाट सो उद्योग व्यवस्थान गर्ने बताउनुभयो । “नियम विपरित रहेका उद्योगलाई हटाउने छौं,” उहाँले भन्नुभयो । विगतदेखि नै कुरा हुदैं आएको स्मार्ट सीटीको परिकल्पना पुरा गर्ने र सो क्रममा कसैलाई पनि भूमिहिन नबनाउने योजना रहेको गेलाल बताउनुभयो । जिल्लाका धेरै स्थानमा रहेको खानेपानीको समस्यालाई हल गर्ने र सरसफाईमा समेत विषेश ध्यान दिईने उहाँले बताउनुभयो ।
भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभातर्फका उम्मेदवार किरण थापाले आफु वडाअध्यक्ष हुँदा गरेका विकास निर्माणका कार्यहरुको जानकारी दिँदैं विगतको योगदान हेरेरै यसपटक जनताले माया गर्ने दावी गर्नुभयो । जनप्रतिनिधी हुदाँ राज्यले दिने सुविधा नलिएको र भत्ताबाट आएको रकमले गरिब विद्यार्थीहरुको पढाईमा लगानी गरेको समेत थापाले जानकारी दिनुभयो ।
२ नं. निर्वाचन क्षेत्र (ख) एमालेका उम्मेदवार चंन्दन कृृष्ण श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई पुरा गर्न चुनावी मैदानमा आएको बताउनुभयो । आफ््नो निर्वाचन क्षेत्र मध्यपुरथिमि नगरपालिकालाई दुई भागमा विभाजन गरेर विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
“नेवाः समुदायको बस्ती भएकाले त्यहाँको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्दछ,” श्रेष्ठले भन्नुभयो । नयाँ बस्तीका जनताको सानो–सानो समस्या समाधान गर्ने योजना रहेको उहाँको भनाई छ । नेपाल कोरिया मैत्री नगर अस्पतालाई अझै सुधार गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने श्रेष्ठले बताउनुभयो ।
प्रेस चौतारी भक्तपुर जिल्ला शाखाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख निरञ्जन बजगाई, सल्लाकार कृष्णराम गेलाल, चाँगुनारायण नगरकमिटीका अध्यक्ष राम तिमिल्सिना र जिल्लामा संक्रिय सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।