विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न थापाको चेतावनी

भक्तपुर, असोज ३०

नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार दुर्लभ थापाले जिल्लामा विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न चेतावनी दिनुभएको छ ।
रफत सञ्चार क्लवले आइतवार आयोजित साक्षात्कार कार्यक्रममा थापाले २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि मुलुकमा विकासको लहर चलेको र यो निरन्तर चलिरहने बताउँदैं भक्तपुरमा केही समय यता सबै विकास निर्माण आफुले गरेको भन्ने जस्तो गरी प्रचार गरेर जनतामा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाउनुभयो ।
उहाँले नीति निर्माणको तहमा पुग्ने सांसदको निर्वाचनमा विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेहरुलाई अब जनताले तह लगाउने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका सांसदले शुरु गरेको विकास निर्माणका कार्यमा समेत रिवन काटेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदैं त्यस्ता कार्यको प्रमाण आफुहरुसँग सुरक्षित रहेको बताउनुभयो ।
उहाँले निर्वाचनलाई पाँच पाँच वर्षमा आउने राष्ट्रिय पर्वको संज्ञा दिँदैं यसलाई शान्तिपूर्ण, निष्पक्ष ढंगले सम्पन्न गर्ने दायित्व सबै राजनीतिक दलहरुको भएकाले गठबन्धनमा रहेका दलहरुबीच यस सम्बन्धमा गम्भिर छलफल भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा कसैले धनवाद, डनवाद र गनवादको आडमा निर्वाचन जित्ने प्रयत्न गर्छ र निर्वाचनलाई अशान्त बनाउन खोज्छ भने कांग्रेस र गठबन्धनमा रहेका दलहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनुभयो ।
देशभरी गठबन्धनको पक्षमा आएको जनलहर र उत्साहले चुनावी परिणाम गठबन्धनको पक्षमा जाने निश्चित भएपछि निर्वाचनमा विभिन्न किसिमका वितण्डा मच्चाउन सक्ने तर्फ सबै चनाखो हुनुपर्नेमा थापाले जोड दिनुभयो ।

मंसिर ४ मा हर्ष उल्लासका साथ मतदाताले निर्वाचनमा भाग लिने र निर्वाचन सम्पन्न हुने आशा व्यक्त गर्दै थापाले कहिँ कतैबाट शान्त वातावरणलाई खलल गर्ने दुस्साहस भए त्यसको प्रतिकारमा गठबन्धन हरदम तत्पर रहेको बताउनुभयो ।

विगतमा आफुले गठबन्धन गर्दा पवित्र हुने र अहिले कांग्रेसले गठबन्धन गर्दा अपवित्र हुने तर्कलाई हारको मानसिकता भएको बताउँदैं राष्ट्रिय एजेण्डा, संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस सधैं सबै दलहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उहाँले विगतमा एमालेसँग पनि सहकार्य गरेको स्मरण गराउँदैं निर्वाचनपछि पनि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, मुलुकको आर्थिक समृद्धिका लागि एमालेसँग पनि सहमति र सहकार्य गरी अघि बढ्न सकिने धारणा राख्नुभयो ।