कसैलाई हराउन होइन, जित्नको लागि आएका छौं – सभापति थापा

भक्तपुर, असोज २५
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार दुर्लभ थापाले आफुहरु कसैलाई हराउनका लागि नभई जित्नको लागि आएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले मंगलवार आयोजित कार्यक्रममा थापाले आफ्नो प्रतिष्पर्धा विकासका नाममा भएका भ्रष्टाचार, बेरोजगारी, बेथिती, विसंगती र अशिक्षासँग रहेको बताउँदैं कसैलाई हराउनका लागि भन्दा पनि आफु जित्नको लागि चुनावी मैदानमा आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हामी कसैलाई हराउनका लागि आएका छैनौं । हामी जित्नका लागि निर्वाचनमा आएका छौं । हाम्रो कुनै पार्टीसँग प्रतिष्पर्धा छैन । हाम्रो प्रतिष्पर्धा यहाँको बेरोजगारीसँग छ । हाम्रो प्रतिष्पर्धा यहाँको भ्रष्टाचार र भ्रष्टचारीसँग छ । यहाँको गरिवी, बेथिती र विसंगतीसँग छ ।


उहाँले निर्वाचनका बेला कुनै दल वा उम्मेदवारलाई कुनै प्रकारको गाली गलौज नगर्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्दै आइलाग्ने माथि जाइलाग्न भने पछि नहट्न निर्देशन समेत दिनुभयो । “हामी कसैलाई गाली गर्देनौ तर एउटा कुरा विचार गर्नुहोस आइलाग्ने माथि जाई लाग्न पछि नहट्नुहोस,” उहाँले भन्नुभयो ।
पार्टी भित्र कुनै मनमुताव र विवाद नभएको प्रष्ट पार्दै सभापति थापाले कसैले कांग्रेसभित्र विवाद छ, भन्दै भ्रमको खेती गर्ने र धमिलो पानीमा माछा मार्ने कुचेष्टा नगर्न चेतावनी समेत दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा जस्तै जिल्ला, क्षेत्र, प्रदेश, नगर, वडा र टोल इकाई समितिमा रहेका पदाधिकारी र सदस्यहरु तथा क्रियाशिल सदस्यहरुलाई समेत जनताका घरघर टोलटोल पुगेर निर्वाचनको प्रचार प्रसार गर्न र नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अग्रसर हुन निर्देशन समेत दिनुभयो ।


क्षेत्रीय सभापति भेषबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु मदनकृष्ण श्रेष्ठ, रमा पौडेल कोइराला, जिल्ला नेता अष्ट कवे, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, नेताहरु कविर राणा, माथवरसिंह बस्नेत, सन्तोष भट्टराई, मध्यपुर थिमिमा नगरसभापति हरिदास प्रजापति, मध्यपुर थिमिका नगरसभापति सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरसभापति निशान ढुंगेललगायत पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले भक्तपुर क्षेत्र नं. २ मा कांग्रेस कहिल्यै कमजोर नभएको तर नेताहरुको एकजुट नहुँदा निर्वाचन हार्ने गरेको तथ्यांक प्रस्तुत गर्दै नेताहरुलाई एक भएर निर्वाचनमा होमिन र स्थानीय तहको निर्वाचनमा जस्तै जनताका घर घरमा पुगेर मत माग्नुपर्ने सुझाव दिएका थिए ।