यसवर्षको पहिलो कथिन चीवर दान सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

सुनिता तुलाधर, ललितपुर, असोज २४ ।

यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
बौद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दान आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्यको कार्यको रुपमा लिईन्छ ।

बौद्धजन विहारमा काठमाण्डौ निवासी रत्नकाजी र चमेली शाक्य परिवार, राजेश्वर र बिमला बज्राचार्य परिवार, पूर्ण रत्न र नानीकेशरी बज्राचार्य परिवार, धर्मरत्न र पद्मतारा शाक्य, शान्ति शाक्य, गौतम र समुन्द्र देवी ताम्राकार, सबिता तुलाधर, अमृत रत्न तुलाधर, कविता तुलाधर, बुद्ध उपाली मानन्धर र धर्मदेवी महर्जन लगायत मुख्य दाताका रुपमा उक्त कथिन चीवर दान आयोजना गरिएको हो ।
सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।

कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु संकिच्च महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।
कथिन चीवरका दाताहरु ११ जना रहेका थिए भने ८३ जना अष्ट परिष्कारका दाताहरु रहेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।