मोहनी नखाःको दशौं दिन नेवार समुदायमा चालँ

भक्तपुर, असोज १८
मोहनी नखाःको दशौं दिन नेवार समूदायले आज चालँ मनाउँदैछन । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथी सत्यको विजयको प्रतिक रातो टिका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाईन्छ । साथै खड्ग र पायो बोकेर खाँ निस्कने गर्दछ ।
नेवार समूदायमा विजया दशमीको दिन घरको सबैभन्दा जेठो ब्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पुजा गरेको स्थानमा मोहनी पुजा सम्पन्न गरिन्छ । त्यसपछि परिवारका सबैजना बसेर सम्ये बजी प्रसाद ग्रहण गरी परिवारको ज्येष्ठ सदस्यबाट परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टिका), नःलास्वाँ र रातो कोखा सहित पूजामा राखेका औजार सामग्रीहरु हस्तान्तरण गर्छन् ।
यसरी प्रसाद लिंदा आफु भन्दा ठुलालाई ढोग्नुपर्छ र ठुलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासंगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस आदी भनेर आशीर्वाद दिन्छन् ।
चालँ अर्थात दशमीको दिन काठमाडौ उपत्यकाको शहरहरुमा र अन्य नेवार बस्तीहरुमा पायो वा खड्ग जात्रा निकालिन्छ । घरघरमा पनि आगममा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आगम बाहिर ल्याउँछ । सबै घरपरिबारले खड्ग ढोग्दछन् । यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ ।
खड्ग बोक्ने पायोमा पनि देवी प्रबेश गर्ने भएकोले पायो कांप्न थाल्दछ । त्यसपछि कुभिन्डो, उखू र अदुवाको बोटलाई खड्गले हाने पछि पायो पनि सम्पन्न हुन्छ । किम्बदन्ती अनुसार भगवतिले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रबेश गरेकोले ती बस्तुहरुलाई पनि काट्ने गरेको भनिन्छ । अर्काे दृष्टिकोणले पायो निकाली कुभिन्डो आदी काट्नु भनेको अन्याय अत्याचारमाथि सत्य र न्यायको बिजय भनेर पनि बुझ्ने गरिन्छ । पायो अर्थात खड्ग घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसंग जात्रा नै गरिन्छ ।
नेवार समूदायमा दशमीको दिनदेखी मोहनी नखाःत्या शुरु हुन्छ । नेवार समूदायमा मान्यजनका घरघर गएर टिका लगाउने परम्परा छैन । तर अचेल यसको प्रचलन पनि शुरु भएको छ ।
नेवार समूदायमा दिदीबहिनी, भान्जाभान्जी, छोरी ज्वाईंलगायतका आफन्तजनलाई मोहनी नखाःको भोजको निम्तो दिएर खुवाउने प्रचलन छ, यसैलाई नखाःत्या सतेऊ (बोलाउनें) र नखाःत्या वनेऊ (जाने) भन्ने गरिन्छ ।
यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्हरु बताउँछन । यो दिन भक्तपुरको ब्रम्हायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टिका देवीको प्रसादको रुपमा शिरमा लगाईन्छ । तलेजु समेत विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ ।
राती ब्रम्हायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यहरुलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन् । खड्ग जात्रालाई पायो जात्राको रुपमा पनि लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत रुपमा पुजा गर्दछन । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोशाक लगाएका मानिस समेत जात्रामा सामेल हुन्छ ।
किम्वदन्ती अनुसार सत्ययुगमा दैत्यहरुले ब्रम्हाको तपस्या गरे । ब्रम्हाले खुशी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए । दैत्यहरुले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्हाले स्वास्नीमान्छे बाहेक कसैले मार्न नसक्ने वरदान दिए । वरदान प्राप्त गरेपछि दैत्यहरु स्वर्गमा गई देवताहरुलाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पति गराए । दैत्यहरुसँग युद्ध गराए अन्तःमा मूख्य मूख्य दैत्यहरु सबै मारिए । बाँकी भएका दैत्यहरु कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यहरुलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा शुरु भएको लोककथन रहेको पाईन्छ ।