साँस्कृतिक गुरुहरुलाई भक्तपुर नगरपालिकाको सम्मान

भक्तपुर, असोज १२
भक्तपुर नगरपालिकाले बुधवार २२ जना साँस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक नाचका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै भक्तपुर नगरपालिकाले साँस्कृतिक गुरुहरुलाई पनि सम्मान गरेको हो ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कला संस्कृतिको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाई, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउँदैं अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरुले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।


नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरु इमानदार हुनुपर्ने बताउनुभयो ।
निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउँदैं उहाँले निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरुको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरुको योगदान कदरयोग्य भएको बताउनुभयो । उहाँले अग्रजहरुले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो ।
पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्धानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गरिरहेको प्रसंग जोडदै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो ।


त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरुको उत्साहजनक सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो ।
संस्कृतिविद् विश्वमोहन जोशीले साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले सँस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा बिजुक्छेँले सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाई नगद १५ हजारसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।