मध्यपुर थिमि वडा लिगमा वडा नं. २ र ७ को जित

भक्तपुर, असोज १२
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ७ ले दोस्रो जित निकालेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा बुधवार वडा नं. ७ ले वडा नं. १ लाई पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । यससँगै वडा नं. ७ लिगको शिर्ष स्थानमा उक्लेको छ ।
वडा नं. ७ को जितमा सफल प्रजापति नायक बने । उनले खेलको ८३ औं मिनेटमा गोल गर्दै वडा नं. ७ लाई निर्णायक अग्रता दिलाए । निक्कै प्रतिष्पर्धात्मक खेल गोलरहित बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा सफलको गोल नै निर्णायक बन्यो र वडा नं. ७ ले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । खेलको म्यान अफ दि म्याच वडा नं. ७ का सफल घोषित भए ।


यसअघि सम्पन्न पहिलो खेलमा वडा नं. २ ले जित निकाल्यो । वडा नं. २ ले वडा नं. ८ लाई २–० ले गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । वडा नं. २ को जितमा रिमेश भट्टराई र साइमन तण्डुकारले एक एक गोल गरे ।
रिमेशले खेलको पहिलो हापमा र साइमनले दोस्रो हापमा गोल गरेका थिए । खेलको ८ औं मिनेटमा नै रिमेशले गोल गर्दै वडा नं. २ लाई अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा साइमनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलमा त्यसपछि कुनै गोल हुन सकेन । र खेल वडा नं. २ ले २–० ले जित निकाले । खेलमा साइमन म्यान अफ दि म्याच घोषित भए ।