मध्यपुर थिमि वडा लिगमा वडा नं. ४ को दोस्रो हार, ५ र ६ ले गोलरहित बराबरी खेले

भक्तपुर, असोज १०
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ४ ले दोस्रो हार व्यहोरेको छ भने वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा सोमवारको दोस्रो खेलमा वडा नं. ९ ले वडा नं. ४ लाई ३–० गोल अन्तरले पराजित गरे । वडा नं. ९ को जितमा विज्ञान राजबहाकले एक र अचल खत्रीले दुई गोल गरे ।
विज्ञानले खेलको ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि अर्थात खेलको ३८ औं मिनेटमा अचलले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हापमा २–० ले अघि रहेको वडा नं. ९ ले दोस्रो हापमा थप एक गोल गरे । खेलको ५३ औं मिनेटमा अचलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाउँदैं जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच वडा नं. ९ का अचल खत्री घोषित भए ।
खेलमा वडा नं. ४ का अञ्जिन कपालीले प्रतियोगिताकै पहिलो रातो कार्ड पाए । खेलको ९० औं मिनेटमा गोलका लागि अघि बढेका वडा नं. ९ का खेलाडीलाई तानेर लडाएपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाउँदैं मैदान बाहिर पठाएका थिए । त्यस्तै वडा नं. ४ कै निश्चिल श्रेष्ठले पहेँलो कार्ड पाए ।
यसअघि दिनको पहिलो खेलमा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेले । खेलमा वडा नं. ५ ले लगातार दवाव बनाएपनि वडा नं. ६ का गोलकिपर निरोज श्रेष्ठ बाधक बनेपछि वडा नं. ५ गोलरहित बराबरीमा रोकिन पुगेको हो ।
खेलमा वडा नं. ६ का गोलकिपर निरोज म्यान अफ दि म्याच घोषित भए । त्यस्तै वडा नं. ६ का मदन प्रजापति र वडा नं. ५ का रविन कुटुले पहेँलो कार्ड पाए ।
यससँगै लिगको पहिलो चरणको खेल समाप्त भएको छ । पहिलो चरणको समाप्तीमा वडा नं. ९ लिग तालिकाको शिर्ष स्थानमा उक्लेको छ । वडा नं. १, ८, ७ र ९ को समान ३÷३ अंक भएपनि गोल अन्तरमा वडा नं. ९ शिर्ष स्थानमा उक्लेको हो । त्यस्तै दुई खेलमा पराजय व्यहोरेको वडा नं. ४ अंक तालिकाको पुछारमा रहेको छ । गोलरहित बराबरी खेलको वडा नं. ५ र ६ क्रमशः पाँचौं र छैंटौं स्थानमा रहेको छ । त्यस्तै वडा नं. १ दोस्रो, वडा नं. ८ तेस्रो, वडा नं. ७ चौंथो, वडा नं. २ सातौं र वडा नं. ३ आठौं स्थानमा रहेको छ ।