भक्तपुर, असोज १०
नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्नुका साथै जमरा राखेर बडादशैंको शुरुवात गरिन्छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र वडादशैंको विजया दशमीको दिन साइतमा त्यही जमरा र टिका प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ ।
राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् ।
नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम बताउँछन् ।
कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । बिहान १०ः३० बजे को शुभ साइतमा घटस्थापना गरेसँगै दशैं शुरु हुनेछ ।
दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोका दरबारसहित देशैभरका दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी विशेष पूजा गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेको छ ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
यसैगरी नेवार समूदायले पनि आश्विन प्रतिपदा अर्थात आजको दिन घटस्थापना गरी जमरा राख्छन । नेवार भाषामा यसलाई नलस्वाँ सालेगु भनिन्छ । नवरात्र भर नेवार समूदायले पनि विभिन्न शक्तिपिठमा गई पुजा आराधना गर्दछन ।
सातौं दिन अर्थात सप्तमीको दिन फुलपाटी भित्र्याउने, अष्टमीको दिन सामूहिकरुमा राँगोलगायतका पशु बली दिएर मासु भाग लगाई घरघरमा भित्र्याउने र साँझ कुलका सबै सदस्य जम्मा भएर कम्तीमा १२ थरी विभिन्न तरकारीसहितको कुछी भ्वय् खाने प्रचलन रहेको छ ।
नवौं दिन अर्थात नवमीलाई नेवार समूदायले मोहनी नखाःको रुपमा मनाउँछन । यस दिन घरघरमा हातहतियार, पेशागत औजार, सवारी साधनलगायत कुलका सबै देवीदेवताहरुको पुजा गर्दछन । बलीसहितको पुजा पछि भोज खान्छन ।
दशमीको दिन नवदुर्गा भवानीको प्रसाद झिकी परिवारका सबै सदस्यहरु टिका र जमरा ग्रहण गर्दछन । प्रसाद ग्रहणपछि चाँलः वाय् गर्दछन । यसबीचमा स्थान विशेष अनुसार खाँ प्याँ वय्गु जात्रा पनि मनाईन्छ ।