मध्यपुर थिमि वडा लिगमा वडा नं. ८ विजयी

भक्तपुर, असोज ९
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा वडा नं. ८ ले वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगको आइतवार सम्पन्न पहिलो खेलमा वडा नं. ८ ले वडा नं. ३ लाई पराजित गरेको हो ।
वडा नं. ८ को जितमा रवि मन्त्र श्रेष्ठ र दिपक वाँस श्रेष्ठले एक एक गोल गरे । रविले पहिलो हापमा र दिपकले दोस्रो हापमा गोल गरेका थिए । खेलको ४१ औं मिनेटमा जर्सी नं. ११ का रविले गोल गर्दै वडा नं. ८ लाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा दिपकले व्यक्तिगत पहिलो तथा टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि वडा नं. ८ ले २–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भए ।


खेलको म्यान अफ दि म्याच वडा नं. ८ का दिपक बाँस श्रेष्ठ घोषित भए । निक्कै प्रतिष्पर्धात्मक खेलको ८१ औं मिनेटमा वडा नं. ८ का कप्तान सुजन सिपाहीले पहेँलो कार्ड खाएका थिए ।
यसअघि वडा नं. १ ले लिगको पहिलो खेलमा शनिवार वडा नं. ४ लाई २–० ले पराजित गरेको थियो । वडा नं. १ र ८ को अंक र गोलअन्तर समान रहेको छ । लिगमा आज आइतवार नै दिउँसो ३ बजे वडा नंं २ र वडा नं. ७बीच प्रतिष्पर्धा हुनेछ ।