स्रोहश्राद्धको अन्तिम दिन हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो

फाइल तस्विर

भक्तपुर, असोज ९
स्रोहश्राद्धको अन्तिम दिन आज (आइतवार) भक्तपुरको प्रसिद्ध धार्मिक तिर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो लागेको छ । आश्विन कृष्णपक्षसँगै शुरु भएको पितृपक्षको १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन दिवंगत भएका आफन्तहरुको नाममा श्राद्ध गरी पिण्डदान गर्नेहरुको हनुमानघाटमा घुईंचो लागेको हो ।
आफ्ना पितृको तिथिमा सोह्रश्राद्ध गर्न छुटेका, विभिन्न कारणले श्राद्ध छेकेका र अन्य कारणले पितृको तिथिको दिन श्राद्ध गर्न असमर्थ भएकाहरुले सोह्रश्राद्धको अन्तिम दिन हनुमानघाटमा श्राद्ध गर्ने परम्परा भएकाले पनि आजको दिन हनुमानघाटमा सोह्रश्राद्ध गर्नेको घुईंचो लाग्ने गरेको हो ।
हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवंगतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरबासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्रद्धा गर्न आउने गरेको पुरोहित गोविन्दराज राजोपाध्यायले जानकारी दिनुभयो । “पितृपक्षमा गरिने स्रोह्रश्रद्धा हनुमानघाट क्षेत्रमा गरी हनुमन्ते नदीमा पिण्डदान गरी सेलए आफ्नो पुर्वजको दिवंगतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवंगत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ,” उहाँले भन्नुभयो ।
पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्व रहेको छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुदैन भन्ने धार्मिक मान्यता अहिले पनि छ । वर्षदिनमा गरिने कुनै पनि शुभकार्यको थालनीको लागि पनि यो श्राद्ध गरिन्छ ।
हनुमानघाटलाई त्रिवेणी घाटको रुपमा पनि लिने गरिन्छ । आजको दिन त्यहाँ स्नान गरी स्रोह्रश्रद्धा गर्नाले पाप नष्ट हुनुका साथै दिवंगतले सजिलै वैकुण्ठ बास पाउँछ भन्ने धार्मिक विश्वास रहेको छ ।