मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

भक्तपुर, असोज ८
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल गरे ।
वडा नं. १ ले खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । वडा नं. ४ का खेलाडीले बल नियन्त्रण गर्ने क्रममा डिबक्सभित्र हातले छेकेपछि रेफ्रिले वडा नं. १ लाई पेनाल्टीको अवसर दिएको थियो । वडा नं. १ का १९ नं. जर्सीका जेशनले कुनै गल्ती नगरी वडा नं. ४ का गोलकिपरको दाहिने पोल च्यापेर गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । वडा नं. ४ का गोलकिपरले पेनाल्टी रोक्ने कुनै अवसर नै पाउन सकेन ।


खेलको शुरुवातदेखी बल पोजेशन बढाउँदैं लगातार आक्रमण गरेको वडा नं. १ ले दोस्रो हापमा अर्को गोल थप्यो । खेलको ५८ औं मिनेटमा वडा नं. १ का कप्तान समेत रहेका जर्सी नं. १० का सविन डंगोलले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारेको हो ।
खेलमा त्यस यता कुनै गोल हुन सकेन । अन्ततः वडा नं. १ ले २–० को जित सँगै महत्वपूर्ण तीन अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच वडा नं. १ का कप्तान सविन घोषित भए ।
मध्यपुर थिमिमा फुटबलको विकास गर्नु, स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने, र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने उद्देश्यले सञ्चालित लिगमा मध्यपुर थिमिका ९ वटा वडाका ९ टोलीको सहभागिता रहेको छ ।


राउण्ड रोविन लिग अन्तर्गत खेलाईने प्रतियोगितामा प्रत्येक टोलीले ८ खेल र कुल ३६ खेल हुनेछ । लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय टोली घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छ । यसैगरी द्धितिय हुनेले एक लाख २५ हजार र तृतिय हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ ।
प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिताले मध्यपुर थिमिमा दुई दशक अघिको फुटबल क्रेज फर्काउन सफल भएको बताए । उनले मध्यपुर थिमिमा फुटबलको उर्वराभुमी हो भन्ने तथ्य यो प्रतियोगिताले पुनः स्थापना गर्ने विश्वास व्यक्त गरे ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलकुदपनि विकासको एउटा मानक भएकाले नगरपालिकाले खेल र खेल क्षेत्रको पूर्वाधार विकासमा अघि बढेको बताए ।