थिमिका पशु वधशाला र मासु पसललाई जरिवाना

भक्तपुर, असोज ८
जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार मध्यपुर थिमिका पशु वधशाला तथा मासु पसलको अनुगमन गरी कारवाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको अनगुमन टोलीले पशु वधशाला र तथा मासु पसल उपभोक्ता संरक्षण ऐन २०७५ विपरित पाईएपछि कारवाही गरी जरिवाना गरेको हो ।
टोलीले सिद्धिकाली मिट सप्लार्यस र बालकारी बफ्यालो सप्लार्यसलाई जनही १०÷१० हजार, सिद्धिकाली मिट फ्रेस सेन्टरलाई २० हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ । त्यस्तै गरी लक्ष्मी खड्गी पसल, विनोद खडगी पसल, बुद्धिबहादुर खड्गी (रमेश खड्गी), सुनिल खडगी, अरनिको प्रेस हाउसलाई जनही ५÷५ हजार जरिवाना गरेको छ । टोलीले दिलकाजी मासु पसललाई २ हजार जरिवाना गरेको सहायक प्रजिअ शर्माले बताउनुभयो ।


पशु वधशाला र मासु पसलहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड क र ग अनुसार जरिवाना गरिएको शर्माले बताउनुभयो । अनुगनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धीत निकायमा दर्ता गर्न, नियमित रुपमा नविकरण गर्न, कर चुक्ता, सरसफाई, मूल्य सुची टाँस, तथा व्यवसाय सञ्चालन मापदण्ड पालना गर्न निर्देशन समेत दिएको छ ।

अनुगमन टोलीमा मध्यपुर थिमि नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, भक्तपुर उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, घरेलु तथा साना उद्योग संघ, प्रहरीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले गत साउन यता विभिन्न मितिमा ६५ वटा व्यवसायिक फर्ममा अनुगमन गरी ४ लाख १६ हजार जरिवाना गरिएको जनाएको छ । प्रशासनले ती पसलहरुबाट करिव ११ लाख रुपैंया बराबरको खाद्यान्नलगायतका सामग्री जफत गरी नष्ट गरेको जनाएको छ ।