निशान गाडीले किचेर लोकन्थलीमा १७ महिने बालकको मृत्यु

भक्तपुर, असोज ७
अभिभावकको लापरवाहीले एक १७ महिने बालकको निशान गाडीले किचेर ज्यान गएको छ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा पानी बोक्ने निशान गाडीले किचेर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–५ घर भई हाल मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा सलिन श्रेष्ठको मृत्यु भएको हो ।
बालक सलिन खेल्दा खेल्दै गाडी मुनी गएको तर कसैले ध्यान दिन नसक्दा गाडी अगाडि बढाउने क्रममा किचेर सख्त घाईते भएका थिए । घाईते सलिनलाई उपचारका लागि तत्काल लोकन्थलीस्थित समिट अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
घटनास्थलमा प्रहरी वृत्त थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिर्ई प्रारम्भिक अनुसन्धान कार्य गरी सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने २३ वर्षिय आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको पाण्डेले जानकारी दिनुभयो ।