साफ महिला च्याम्पियनसिप, नेपाललाई स्तब्ध पारी बंगलादेशले जित्यो उपाधी

भक्तपुर, असोज ३
नेपाली महिला फुटबल टोली फेरी एक पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता रोकिएको छ । पहिलो पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान ओर्लेको नेपाली महिला टोली दशरथ रंगशालामा सोमवार सम्पन्न फाइनलमा बंगलादेशसँग १–३ ले स्तब्ध हुँदै उपविजेतामा सिमित बनेको हो ।
जितसँगै बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको हो । यससँगै साफले नयाँ च्याम्पियन पाएको छ । यसअघि लगातार पाँच संस्करणमा उपाधी जितेको भारत सेमिफाइनलमा नेपालसँग पराजित भएपछि साफले नयाँ च्याम्पियकन पाउने पक्का भएको थियो ।
उत्कृष्ट लयमा रहेको बंगलादेशलाई उपाधी दिलाउन कृष्णारानी सरकारले २ गोल गरिन भने सम्सुनाहारले एक गोल गरिन । नेपालका लागि अनिता बस्नेतले सान्तवना गोल गरिन ।


बंगलादेशले खेलमा पहिलो हापमा दुई गोलको अग्रता लिएको थियो । बंगलादेशका लागि खेलको १३ औं मिनेटमा साम्सुनाहारले पहिलो गोल गरिन । खेलको १० औं मिनेटमा मैदान प्रवेश गरेकी साम्सुनाहारले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो ।
खेलको ४१ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोसेपछि कप्तान सविना खातुनले कृष्णारानीलाई थ्रु पास दिइन् । कृष्णाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनमा एन्जिलालाई बचाउने कुनै मौका नदिई बललाई जाली चुमाए ।
खेलको ७० औं मिनेटमा नेपालले गोल फर्काउँदैं खेलमा फर्किने प्रयास गरेको थियो । अनिता बस्नेतले अमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २–१ बनाइन् । गोलअन्तर कम भएसँगै दशरथ रंगशालामा उपस्थित करिव १६ हजार दर्शक निक्कै उत्साहित भएका थिए । नेपाली खेलाडीहरुलाई हौस्याइरहेका दर्शक ७७ औं मिनेटमा स्तब्ध भए । काउन्टर अट्याकमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरेपछि दशरथ रंगशालामा स्तव्धता छाएको थियो । मिडफिल्डमा नेपालले बल गुमाएपछि अघि बढेको काउन्टर अट्याकमा कृष्णाले गोलरक्षकलाई कुनै अवसर नदिई बंगलादेशलाई ३–१ ले अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।


यसअघि खेलको २२ औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै बचाएका थिए । खेलको ३६ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षक रुपनाले डाइभ दिँदै उत्कृष्ट बचाउ गरिन् । त्यसपछि प्राप्त कर्नरमा नेपालले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइन अघि बंगलादेशका डिफेन्डरले तेस्रो प्रयासमा बल क्लियर गरिन् ।
नेपालले दोस्रो हाफमा विंगर अनिता केसीको स्थानमा सावित्रा भण्डारीलाई मैदान पठाएको थियो । ४७ औं मिनेटमा अमृता जैशीको हेडरलाई गोलरक्षक रुपनाले मुस्किलले बचाइन् । ५२ औं मिनेटमा नेपालले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । अनिता बस्नेतको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेकी रश्मीकुमारी घिसिङले हेडरलाई पोस्टको दिशा दिन सकिनन् । ६८ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर र गोलरक्षकको बीचबाट गरेको प्रहारमा रुपनाले उत्कृष्ट बचाउ गरिन् ।
खेलको ७४ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्राको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ८० औं मिनेटमा नेपालले प्रिती राइको स्थानमा रेखा पौडेललाई मैदान प्रवेश गरायो । ८२ औं मिनेटमा दीपा शाहीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक रुपनाले सहजै बचाइन् ।