संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने

भक्तपुर, असोज ३
विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजान पनि संविधानको पालना सबैले गर्नुपर्ने खाँचो औंल्याए ।
संविधान दिवसको अवसरमा सोमवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा संविधानको मर्म र भावना अनुरुप कार्य गर्न सके नागरिकले घर आँगनमा नै सरकारको अनुभुती गर्न सकिने समेत बताए ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पालिकाले संविधान प्रद्धत अधिकार उपयोग गरी आम नगरवासीहरुको बृहत्तर हितमा कार्य योजना निर्माण गरेर अघि बढी रहेको बताउनुभयो । उहाँले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत आवश्यकताको सरल र सहज पहुँच बृद्धिका लागि नगरपालिकाले कार्य गरिरहेको समेत बताउनुभयो ।
संविधान अनुरुप अझै पनि स्थानीय तहले अधिकार प्राप्त बाँकी रहेको बताउँदैं उहाँले मध्यपुर थिमि नगरपालिकाले संघीयताको मुल्य, मान्यता र मर्म अनुरुप आफ्ना हक अधिकारको उपयोग गर्दै अघि बढेको जानकारी दिनुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले हजारौंको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्नु मात्र नभई यसको अक्षरस पालना गर्नु पनि सबै नागरिकको कर्तव्य भएको बताउनुभयो । उहाँले संविधानको बारेमा आम नागरिकलाई सचेत बनाउन र जानकारी दिन दिवसको दिन बन्द कोठामा मात्र नभई खुल्लारुपमा विभिन्न कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिपकुमार प्रजापतिले अहिले मुलुकमा केही तत्वहरुले संवैधानिक संकट निम्त्याउने प्रयत्न गरिरहेको प्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले संविधानलाई क्रमशः कार्यान्वयन गर्दै संस्थागत गर्ने क्रममा मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा सहभागीहरुलाई वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले संविधानका बारेमा अभिमुखीकरण गर्नुभएको थियो । उहाँले संविधानका मुलभुत विषयको जानकारी दिँदैं संविधानको पालना राज्य, सरकार र आम नागरिक सबैले गर्नुपर्नेमा जोड दिनुभयो । साथै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपक अछामीले डेंगी रोगका बारेमा प्रस्तुतीकरण मार्फत यसका लक्षण, रोकथामका उपाय र उपचार पद्धतीका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रवचन कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । नगरको वडा नं. ४ स्थित बालकुमारी प्रांगणबाट शुरु भएको प्रभातफेरी कार्यक्रम दथुटोल, निःगुपुखुः (दुई पोखरी) हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजारहुँदैं मध्यपुर व्यांक्वेट पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरका विभिन्न सामाजिक संघ संस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारीहरु, प्रहरीको सहभागिता रहेको थियो ।