संविधान दिवस विविध कार्यक्रम गरी मनाईंदै, थिमिमा पदयात्रा हुने

भक्तपुर, असोज ३
‘संविधान दिवस २०७९’ आज विविध कार्यक्रम गरी मनाईंदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधान जारी भएको अवसरमा प्रत्येक वर्ष आजको दिन संविधान दिवस मनाउँदैं आएको हो ।
संविधान दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विदेशी कुटनीतिक नियोगका प्रमुख, विदेशी राजदुतहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागिता रहने छ ।
समारोहमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्नेछ साथै विभिन्न साँस्कृतिक झाँकीका साथै खेलाडीहरुले विविध खेल कौशल प्रदर्शन गरिनेछ । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछ ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाले पनि संविधान दिवसको अवसरमा पदयात्रा आयोजना गरेको छ । बिहान साढे सात बजे वडा नं. ४ स्थित बालकुमारी प्रांगणबाट शुरु हुने पदयात्रा दथुटोल, निःगुपुखुः (दुई पोखरी) हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजारहुँदैं मध्यपुर व्यांक्वेट पुगेर समापन हुने नगरप्रमुख सुरेन्द्र प्रजापतिले बताउनुभयो ।
पदयात्रामा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरका विभिन्न सामाजिक संघ संस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारीहरु, प्रहरी र सेनालगायतको सहभागिता रहने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ बताउनुभयो ।