सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ ।
नगरपालिकाले पारित गरेको सहकारी ऐन २०७९ को विषयमा जानकारी दिने उद्देश्यले सहकारी शाखाले आइतवार आयोजना गरेको नगरपालिकाको सहकारी कार्यक्रम सार्वजनिकरण तथा सहकारी सम्बन्धी एक दिवसिय अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सहकारी संस्था सम्बन्धी जनगुनासो बढेकोले सहकारीहरुको अनुगमन गरी व्यवस्थित गर्ने बताउनुभएको हो ।
उहाँले नगरपालिकाले ऐन निर्माण गरेपनि नियमावली बनाउन बाँकी रहेकोले नियमावलीमा सहकारीहरुको पनि सुझाव समेट्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


उहाँले केही सहकारीहरुको बदमासीले समग्र सहकारीको बदनाम हुन सक्नेतर्फ सबै सहकारीकर्मी सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको भविष्यसँगै मुलुककै अर्थतन्त्रको भविष्य जोडिएको बताउँदैं सहकारीहरुले वचतकर्ता शेयर सदस्यहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीहरुले आर्थिक गतिविधिमा मात्र जोड नदिई शेयर सदस्यहरुको सामाजिक, शैक्षिक रुपान्तरण र नगरको कला सँस्कृतिको संरक्षण र प्रवद्र्धन, रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले पछिल्लो समय सहकारीहरु स्थानीय नागरिकको जीवनसँग जोडिन पुगेको चर्चा गर्दै सहकारीहरुले निक्षेपलाई सदस्यहरुको बृहत हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मध्यपुर थिमिमा रहेका एक सय भन्दा बढी सहकारी संस्थाहरुबाट परिचालन भएको अर्बौ रुपैंयाले यहाँको उद्यमशीलतामा प्रभावकारी ढंगले प्रयोग हुनुपर्ने बताउनुभयो ।


जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले सहकारीमा पनि माफियाहरु प्रवेश गरेकाले पछिल्लो समय सहकारी संस्था बदनाम हुन थालेको बताउनुभयो । केही ठूला भनाउँदा सहकारीहरुले विभिन्न स्थानमा शाखा बिस्तार गर्ने र संकलन भएको निक्षेप सञ्चालकहरुका आफ्ना र आफन्तको व्यवसायमा मात्र लगानी गर्ने प्रवृत्तिले त्यस्ता सहकारीमा आर्थिक संकट आई वचतकर्ताको वचत जोखिम परेको खड्काले बताउनुभयो । उहाँले नगरपालिकाले पनि नियमितरुपमा सहकारीहरुको अनगुमन तथा नियमन गरी वचतकर्ताको भविष्य सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले वचतकर्ताहरुले पनि सहकारीका सञ्चालकहरुको बारेमा जानकारी लिएर, स्थानीय हो की, बाहिरबाट आएर सहकारी चलाएका हुन की, सहकारीको उद्देश्य के हो बुझेर मात्र सदस्यता लिने वचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १२८ वटा सहकारी सञ्चालनमा भएपनि ११० मात्रले वार्षिक प्रतिवेदन पेश गरि लेखा परीक्षण गराउँदै आएको, १८ वटा सहकारीमा समस्या रहेको जानकारी दिएको थियो ।