एक सय २० जना विद्यार्थीहरुलाई ६१ लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, असोज २
भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका एक सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गर्नुभएको हो ।
यसवर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा ९ जना र शिक्षा विषयमा ६ जना गरी एक सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउने विद्यार्थीहरु ख्वप माध्यामिक विद्यालय, बागीश्वरी माध्यामिक विद्यालय, बासु माध्यामिक विद्यालय र आदर्श आजाद कलेजका छन ।
संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकतामा आधारमा छनोट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
विद्यार्थीहरुले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने सुझाव दिँदैं उहाँले अध्ययनशील र मेहनती विद्यार्थीहरुको हरेक क्षेत्रमा विशेष महत्व रहने बताउनुभयो ।


ख्वप कलेजलाई हालै बीएएलएलबी अध्ययन अध्यापनको लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदैं उहाँले शिक्षाकै कारण विकसित देशहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदैं नगरपालिकाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिरहेको अवगत गराउनुभयो । उहाँले नगरपालिकाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट पनि धेरै विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्न मद्दत पु¥याइरहेको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले ‘सन्तोष अध्ययनको शत्रु भएको चर्चा गर्दै गम्भीर र मेहनत गरी आज अध्ययन गरे भोलिको भविष्य उज्यालो हुने बताउनुभयो । उहाँले नगरपालिकाबाट सञ्चालित सातवटा शैक्षिक संस्थामा हाल ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले छात्रवृत्तिबाट अध्ययन गरेका विद्यार्थी देश र समाजप्रति अझ प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आदर्श आजादका प्रधानाध्यापक श्रीकृष्ण किसी, वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलगायतले शिक्षाको महत्व प्रकाश पार्नुभएको थियो ।