मनोहरा खोलामा भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुल बन्ने

भक्तपुर, असोज १

भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुलको शुक्रवार शिलान्यास भएको छ । काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा ती पुल शिलान्यास भएको हो । दुई पुल मध्ये एउटाले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको वडा नं.७ धुन्चेपाखा र काठमाण्डौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ जोड्ने छ भने अर्को पुलले चाँगुनारायण नगरपालिका वडा नं. १ सोमथली बेसी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मैंचाखेल जोड्ने छ । पुलको बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गर्नुभएको हो ।
सो अवसरमा मन्त्री भँडेलले कांग्रेस भाषण होइन काम गरेर देखाउने पार्टी भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “भाषण गरेर जनता भुलाउने दिन गइसकेको छ । कांग्रेसले भाषणमा भन्दा काममा जोड दिन्छ ।” उहाँले शिलान्यास गरिएका पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने दावी समेत गर्नुभयो । “पुल दुई वर्षपछि उद्घाटन हुन्छ,” उहाँले भन्नुभयो । उहाँले सडक, पुल पुलेसा, ढल, खानेपानीलगायतका विकासका संरचना कुनै दल वा नेता विशेषको नभई जनताको साझा सम्पत्ति भएकाले पुल निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“पहिला नै अरुले शिलान्यास तथा उद्घाटन गरिसकेको योजना फेरि शिलान्यास र उद्घाटन गर्ने कार्य हामी गर्दैनौं,” नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीलाई संकेत गर्दै मन्त्री भँडेलले भन्नुभयो, “जहाँ जनतालाई असहज र समस्या परेको छ त्यस्तो ठाउँमा विकास निर्माणका काम गरेर देखाउँछौं ।”
उहाँले पुल निर्माणपछि कोदारी राजमार्गको बैकल्पिक सडकको रुपमा काठमाण्डौ, भक्तपुरबाट काभ्रे, सिन्धुपाल्चोक लगायतको जिल्लाहरुमा पुग्न समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले के पी शर्मा ओलीमा नयाँ जंगबहादुर र ज्ञानेन्द्र बन्ने चाहना पलाएकाले गठबन्धन आवश्यक परेको बताउनुभयो । उहाँले गठबन्धनमार्फत मुलुकलाई खाडलमा पर्न बाट जोगाएको दावी समेत गर्नुभयो । संघ र प्रदेशको निर्वाचनले मुलुकलाई स्थायित्व र समृद्धिको यात्रा लैजाने बताउँदैं उहाँले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा विकासमा भाग खोज्ने प्रवृत्ति मौलाएकोले विकासकै बदनाम भएको जिकिर गर्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हरहर महादेवमा विगतको सिमानाको विवाद समाधान गरेर पुल निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो । उहाँले मनोहरा खोलामा बन्ने दुई वटा पुल दुई जिल्लाको मितेरी पुलको रुपमा विकास हुने र दुई जिल्लाका नागरिकको आर्थिक समृद्धिका साथै दैनिक जीवनयापन सहज बनाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश पुर्वाधार विकास विभागका निर्देशक लोकनाथ रेग्मीले दुई वटै पुल दुवै जिल्लाको लागि अति आवश्यक र महत्वको भएकाले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बागमती प्रदेश पुर्वाधार विकास कार्यालय प्रमुख भरतकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, संविधानसभाका पुर्व सदस्य दिपक कुईकेल, बागमती प्रदेश पुर्वाधार विकास कार्यालय प्रमुख भरतकुमार यादवलगायतको उपस्थिती रहेको थियो ।